पर्वतको फलेवासमा निर्मित एकिकृत बस्ती समूदायमा हस्तान्तरण

पर्वत । पर्वतको फलेवास नगरपालिका ८ अर्चलेमा निर्मित एकिकृत बस्ती समूदायमा हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत निर्मित एकिकृत बस्ती आज पर्वतका साँसद पदम गिरीले समूदायमा हस्तान्तरण गर्नुभएको हो । साविक ठानामौला गाविस स्थित अर्चलेमा भूकम्पका कारण बस्तीमा बस्नयोग्य नभएपछि १२ घरलाई एकिकृत बस्ती निर्माण गरि छतिवन टारीमा सारिएको थियो । भूकम्प प्रतिरोधी घर, शौचालय, खानेपानी, विजुली र सडक पुगेपछि उक्त बस्तीको निर्माणको कार्य पुरा भएको हो । स्थानान्तरण भएर आएका व्याक्तिहरु गतवर्षदेखि नै यहाँ बसोबास गर्न शुरु गरिसकेका थिए ।

बस्ती समूदायमा हस्तान्तरण गर्दै साँसद गिरीले एकिकृत बस्तीका बासिन्दालाई दिगो रुपमा यहीँ रहनका लागि आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो । उहाँले बस्ती सारेर मात्रै समस्याको समाधान नहुने भन्दै यहाँका बासिन्दालाई निरन्तर आम्दानी हुनेखालको उद्यम सञ्चालन गर्न र नजिकै विद्यालय निर्माणका लागि राज्यको ध्यानाकषर््ाण गराउने बताउनुभयो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले भूकम्प प्रतिरोधी संरचना बाहेक अन्य विकासका पूर्वाधार निर्माणमा नगरपालिकाले लागत साझेदारी गरेको बताउनुभयो । शर्माले पुरानो थातथलो छोडेर एकिकृत बस्तीमा सरेका नागरिकहरुलाई स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता एवं मुडिकुवाका वडाध्यक्ष टिकाराम गौँडेल, ठानामौलाका वडाध्यक्ष मनवहादुर कुँवर, एमाले नेता देबेन्द्रराज पाण्डेले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन फलेवास नगरपालिकाका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सीनाले गर्नुभएको थियो । एकिकृत बस्ती निर्माणका अभियान्ता डिलवहादुर विकले बस्ती निर्माणको शुरुदेखि हालसम्मको अवस्था, आर्थिक कारोवार, भावी योजनाको बारेमा जानकारी दिनुभएको थियो । विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, घर निर्माणका लागि प्राधिकरणको ३६ लाख , उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरिदमा २४ लाख, बाटो, विद्युत, खानेपानी,सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ ।

Back to top button