सुस्मिता क्षेत्री हत्या प्रकरण : २ वर्षपछि पनि न्याय नपाएको परिवारको गुनासाे

दुई वर्ष अगाडी आफ्नै घरको भान्सा कोठामा मृत्त अवस्थामा भेटिएकी हेटौडा उपमहानगरपालिका–४ सूर्यचोककी २६ वर्षीया सुस्मिता क्षेत्री थापाको माइतीपक्षले न्याय दिने अन्तिम समयमा अदालतले आफूहरूलाई बेवास्ता गरेको गुनासो पोखेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै माइती पक्षले न्याय पाउने अन्तिम चरणमा हेटौडा जिल्ला अदालतले आफूहरूलाई बेवास्ता गरेको गुनासो सुनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मृतक सुस्मिताको ठुलो बुवा हेम बहादुर खड्काले गत फागुन २५ गते अदालतमा पेशीको दिन न्यायालयले गरेको व्यवहारले आफूहरू सशङ्कित भएको बताए । उनले भने,‘गत फागुन २५ गते पेशीको अन्तिम दिन थियो, तर हामीलाई केही नभनीकन न्यायाधीश बेञ्चबाट बाहिरिनु भयो, हामी त हेरेको हेर्‍यै भयौँ । एक महिला कर्मचारीले २ घण्टापछि पो तपाईंहरूको पेशी स्थगित भयो भन्नु भयो । अब हामी न्यायको अन्तिम चरणमा छौँ ।’


यही चैत्र १४ गते फेरी अर्को पेशी तोकिएको उनले उल्लेख गरे । उनले २ वर्ष बितिसक्दा पनि न्याय प्रक्रियाबारे आजसम्म केही प्रतिक्रिया र गुनासो नगरेको भन्दै आज भने बाध्य भएर छोरीको न्यायको लागि मुख खोल्न परेको सुनाए ।
जवान छोरीको हत्या काण्डको कानुनी प्रक्रियामा भइरहेको ढिलाईबारे गुनासो पोख्न कपिलवस्तुबाट ३ दिन अघि काठमाडौँ आएको सुनाए ।

मृतक सुस्मिताका बुवा कृष्णबहादुर क्षेत्रीले आफूले माया गरेर हुर्काएर बढाएकी एकमात्र छोरी गुमाएको २ वर्ष बितिसकेको तर न्याय पाउन ढिलाइ भएको गुनासो पोखे । क्षेत्रीले आफ्नो छोरीलाई केटाको परिवार मिलेर भान्छा कोठामा थिचिथिची मारेका हुन भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि अहिलेसम्म न्याय पाउन नसकेकोमा दुःख व्यक्त गरे । साभार रातोपाटी

Back to top button