आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने ओलीकाे दाबी

काठमाण्डाै – नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताउनुभएको छ ।

शनिवार काठमाण्डौमा आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गर्नुभएको हो । उहाँले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताउनुभयो । उहाँले सबै पार्टीहरु एकतिर लागे पनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा(एमाले)को साथमा रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गर्नुभयो ।

‘शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति,राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो । नेपाली कांग्रेसको केन्द्रमा टुप्पामा बसेर टुप्पाबाट हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँ छक्क पर्नुभयो’,उहाँले भन्नुभयाे, ‘पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरु छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ । जित्न सक्छ ।’

अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताउनुभयो । एमाले राष्ट्रिय हितको रक्षा र सम्बर्द्धन गर्ने धारको रुपमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।साभार उज्यालो अनलाईन

Back to top button