म्यादी प्रहरीमा माग भन्दा बढीको आवेदन

पर्वत) । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एक लाख म्यादी प्रहरी भर्ना गरिँदै छ।भर्ती हुनका लागि आवेदन गर्न दिइएको समय शुक्रबारदेखि सकिएको छ। म्यादीमा आवेदन दिएका युवाहरूको अवस्था हेर्दा देशमा बेरोजगारीको समस्या कस्तो छ भन्ने एक खालको ऐना भने देख्न सकिन्छ।पर्वतका लागि कुल ६९९ जना म्यादी प्रहरीको लागि आवेदन खुलाइएकोमा आवश्यकताभन्दा २२० प्रतिशत बढीको आवेदन परेको छ। म्यादी प्रहरी भर्नातर्फको काम गरिरहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार पर्वतमा भर्ती हुनका लागि एक हजार ५३७ जनाको आवेदन दर्ता भएका छन्।

जसमा दुई सय एक जना महिला र एक हजार ३३६ जना पुरुष रहेका छन्।गत चैत छ गतेदेखि आवेदन खुल्ला गरिएको थियो भने हरेक जसो दिन नै जिल्ला प्रहरी कार्यालयको अगाडि युवादेखि ५४ वर्ष उमेर समूहका प्रौढसम्मको भिड देखिन्थ्यो। ‘फाराम भर्नेहरूको भीड हरेक दिन अफिसदेखि बाहिरको सडकसम्म पुगेको हुन्थ्यो आवश्यक परेको सङ्ख्याको दोब्बर भन्दा पनि बढीको आवेदन परेको छ’, प्रहरी निरीक्षक पौडेलले भने, ‘भर्ना हुन आउनुभएका कतिपय माथिल्लै योग्यता भएकाहरू पनि हुनुहुन्छ। कोही ब्याचलरमा रनिङ भइरहेकाहरू पनि हुनुहुन्छ। कोहीले यही भए पनि पढ्ने खर्च जुटाउन सजिलो हुने बताउनुभयो, कोहीले घरको आर्थिक समस्याका कारण भर्ना हुन लागेको बताउनुभएको थियो।’

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले फाराम भर्न आएका सबै जना बेरोजगार नभएको भए पनि अधिकांशले भने आफू बेरोजगार रहेको बताएको जानकारी दिए। बेरोजगारीकै कारण ४० दिनका लागि मात्रै भए पनि जागिर खानको लागि आवेदन दिएको आवेदकहरूलाई उद्धृत गर्दै डिएसपी बुढाथोकीले बताए।

‘फाराम भर्न लाइनमा बस्नुभएकाहरुलाई उहाँहरूले अहिले के गरिरहनुभएको छ भन्नेबारेमा अनौपचारिक रूपमा सोध्दा अधिकांशले बेरोजगार रहेको बताए। विदेशबाट फर्किएर यत्तिकै घरमै बसिरहेको छु भन्नेहरू पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘तर सबै त बेरोजगार हुनुहुन्न। भूतपूर्वहरू केही समय भए पनि निरन्तरता दिन चाहनुहुन्छ। रियल प्रहरी बन्न नसकेकाहरूको सपना केही हदसम्म पूरा गर्नको लागि पनि आउनुभएको छ।’ नेपालमा म्यादी प्रहरी भएर काम गरेको प्रमाणपत्रले वैदेशिक रोजगारीमा गएकाहरूलाई सुरक्षा गार्डको काम पाउन बढी प्राथमिकता हुने भएकाले जोखिमको काममा जानुभन्दा सुरक्षा गार्डमा जाने प्रमाणपत्र लिनको लागि समेत युवाको आकर्षण म्यादी प्रहरीमा रहेको डिएसपी बुढाथोकीले बताए।

आवेदन दिएकाहरूलाई यही चैत १५ देखि २२ गतेसम्म छनोटको काम गरेर चैत २८ गतेबाट प्रशिक्षण दिने गरी प्रहरी प्रधान कार्यालयले समय तालिका निकालेको छ। ४० दिनको अवधिका लागि ५४ वर्ष उमेर पूरा नभएकाहरूबाट आवेदन माग गरिएको थियो।
म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरह २२ हजार छ सय ८० रुपैयाँ आधारभूत तलबका दरले ४० दिनको ३० हजार दुई सय ४० रुपैयाँ दिइने छ। यस्तै खाद्यान्न बापत सात हजार दुई सय, पोसाक तथा अन्य सामग्री खरिदका लागि छ हजार र खटिएको ठाउँमा आउजाउ गर्न एक हजार रुपैयाँ यातायात खर्च दिइने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ। म्यादी प्रहरीलाई पनि नेपाल प्रहरीकै जस्तै बिमालगायतका अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने भनिएको छ । – संजय रेग्मी

Back to top button