म्यादी प्रहरीमा भर्ना हुने अधिकांश युवा विदेश गएर फर्केका

नवलपरासी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर म्यादी प्रहरीको भर्ना खुलाईएको छ । पश्चिम नवलपरासीमा भने भर्ना हुनजाने अधिकांश युवाहरु विदेश गएर फर्केका छन् ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन आएका यी स्थानीय युवाहरुलाई विदेश जान पटक्कै मन छैन । तर देशमा रोजगार नपाएपछि विदेशमा गएर पसिना बगाउनुको विकल्प पनि छैन ।

म्यादी प्रहरीमा भर्ना हुन आउने अधिकांश युवाहरु विदेश गएर फर्किएका छन् । रोजगारको व्यवस्था नहुँदा उनीहरु घरमै बस्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीका लागि सरकारले व्यवस्था नगर्दा विदेशीन बाध्य भएका हुन् ।

थोरै जग्गा भएकाले कृषि पेशा अपनाउन पनि सकेका छैनन् । घरमा खाली बस्नु भन्दा केही दिनको कमाईले घर खर्च चलाउन सजिलो हुने भएकाले भर्ना हुन आएको उनीहरुको भनाइ छ । दश वर्षसम्म मलेसिया र कतारमा पसिना बगाएर आएका यी युवाहरुकाे अवस्था पनि उस्तै छ ।

पश्चिम नवलपरासीमा ७ स्थानीय तह छन् । त्यहाँ खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभएको छ । आर्थिक अभावकै कारण प्लस टु पास गरेर पढ्दै गरेका विद्यार्थीहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आएका छन् ।

सरकारले रोजगारीको व्यवस्था गर्न नसक्दा पढाई खर्च जोहो गर्नपनि भर्ना हुन आएको उनीहरुको भनाइ छ । भर्नापछि आधारभूत तालिम दिई निर्वाचनमा खटाईने छ । ४० दिन निर्वाचनकाे काममा खटाईने म्यादी प्रहरीलाई तलव र अन्य सेवा सुविधासहित ४३ हजार ४ सय ४० रुपैयाँ दिईनेछ । सरकारले युवाहरुका लागि विभिन्न स्वरोजगारका कार्यक्रम ल्याएको जनाएपनि त्यसबाट उनीहरु लाभान्वित हुन सकेको देखिएको छैन ।

तसर्थ सरकारले रोजगार सम्बन्धमा दीर्घकालीन ठोस कार्यक्रम नल्याएसम्म युवाहरुमा विदेश जाने बाध्यता हट्न नसक्ने देखिएको छ ।साभार ईमेज खबर

Back to top button