
काठमाण्डाै – बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर १ को टुनीबोट बस्तीका स्थानीय बासिन्दाले धमाधम गाउँ छोड्न थालेका छन् ।पानी पर्नासाथ बाढी पहिरोको त्रास हुने भएकाले स्थानीय बासिन्दाले गाउँ छोड्न थालेका स्थानीयवासी भवानीश्वर शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले बस्तीमा १४ घर मात्रै छन् ।
सिङ्गो बस्तीमा भएका ४५ घरमध्ये ३१ घरपरिवार विस्थापित भइसकेका छन् । बाँकी रहेका यी घरपरिवार पनि सुरक्षित ठाउँमा सर्ने तयारीमा रहेको शर्माले बताउनु भयो ।बस्तीमा बाढी पहिरोको मात्रै होइन बाँदरको पनि पिर भएकाले भएका घरपरिवारलाई पनि सुनसान बन्दै गएको गाउँ छोड्नै पर्ने बाध्यता रहेको पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका शिक्षक विकास शर्माको भनाइ छ ।
टुनीबोटका स्थानीय बासिन्दा बसाइँ सरेर केही बाग्लुङकै अर्को ठाउँमा गएका छन् भने केही काठमाण्डौ र चितवन बस्ने गरेको शिक्षक शर्माले जानकारी दिनुभयो । टुनीबोट बस्तीमा जोखिम न्यूनीकरणका लागि अहिले पानी निकासका लागि कच्ची नाला बनाइएको छ ।जैमिनी नगरपालिकाले बर्खा लाग्नुभन्दा अघिसम्ममा पक्की नाला बनाउने तयारी गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताउनु भयो ।
सामान्य कच्ची नाला बनाउन बाहेक बाँकी रहेका घरपरिवारलाई सुरक्षित छु भन्ने महसुस गराउन स्थानीय तहले अहिलेसम्म उल्लेखनीय काम नगरेको स्थानीय बासिन्दाकाे गुनासो छ ।साभार उज्यालो अनलाईन