तीन वर्षपछि तेक्वान्दोको राष्ट्रिय च्याम्पियनसिप हुँदै

काठमाडौं । नेपाल तेक्वान्दो संघले करिव तीन वर्षपछि राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । फागुनमा स्थानीय तहदेखि प्रदेशसम्मका छनोट प्रतियोगिता सम्पन्न भएपछि १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप चैत १८ र १९ गते ललितपुरमा आयोजना हुन लागेको हो ।२०७६ वैशाखमा आठौं राष्ट्रिय खेलकुदका क्रममा १६औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो ।

तेक्वान्दो संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा दुई वर्षदेखि राष्ट्रिय टोलीको प्रशिक्षण नभएका कारण आसन्न ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टिम तयार गर्न च्यामिपयनसिप आयोजना गरिएको जानकारी दिएको छ ।आगामी सेप्टेम्बरमा चीनमा एसियाली खेलकुद हुँदैछ भने अर्को वर्ष पाकिस्तानमा १४औं दक्षिण एसियाली खेलकुद हुने तालिका छ ।

सातदोवाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने च्याम्पियनसिपमा सिनियरतर्फ पुरुष र महिलाको ८–८ तौलसमूह तथा जुनियरतर्फ ब्वाइज र गल्र्सतर्फ ५–५ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । २६ स्वर्ण, २६ रजत र ५२ कांस्यका लागि हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीका ३०० खेलाडीको सहभागिता रहनेछ ।

नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय टिम तयारी उपसमितिका संयोजकसमेत रहेका प्रतियोगिताका संयोजक राम गिरीले स्थानीय तह र प्रदेश छनोटमा पराजित भएका तर उमेर र उचाइका आधारमा क्षमता पहिचान भएका ४२ जना खेलाडीलाई पनि प्रतियोगितामा समावेश गरिएको जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ ५४ केजीमुनि, ५८, ६३, ६८, ७४, ८०, ८७ केजीमुनि र ८७ केजीमाथि तौलसमूह समावेश छ । महिलातर्फ ४६, ४९, ५३, ५७, ६२, ६७, ७३ केजीमुनि र ७३ केजीमाथि तौलसमूह समावेश गरिएको छ ।जुनियरमा ब्वाइजतर्फ ४८, ५५, ६३, ७३ र ७८ केजीमुनि तथा गल्र्सतर्फ ४४, ४९, ५५, ६३ र ६८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।साभार अनलाईन खबर

Back to top button