रामेछापमा बम विस्फाेट हुँदा एक जना गम्भीर घाइते

रामेछाप – रामेछाप नगरपालिका–४ हिमगङ्गाको धारापानी बसेरीमा रहेकाे लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

बम विस्फोट हुँदा रामेछाप नगरपालिका–४ हिमगङ्गाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते हुनुभएकाे छ । घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयाे । घाइते श्रेष्ठको काठमाण्डाैकाे टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उहाँका अनुसार माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीन जनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का ३० वर्षीय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षीय रामबहादुर विक तथा भद्रकाली गाउँपालिकाका २९ वर्षीय निल लामालाई प्रहरीले रामेछाप नगरपालिका–४ हिमगङ्गा धारपानीबाट पक्राउ गरेकाे हाे ।

प्रहरीले नियन्त्रणमा लिइएका तीन जनालाई विस्फाेटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरी म्याद थपसहित कारबाहीका लागि अनुसन्धान बढाइने जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button