स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो ।  अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिनुभयाे ।अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ ।‘विभिन्न कारणको जोखिमलाई मध्यनजर गरेर केही बढी छाप्नुपर्ने हुन्छ । त्यसैले करिब दुई करोड मतपत्र छाप्छौं,’ सहायक प्रवक्ता अर्यालले भन्नुभयाे ।

त्यसका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल चलिरहेको अर्यालले बताउनुभयाे ।‘जनक शिक्षा सामाग्री केन्द्रसँग मतपत्र छपाई गर्नेबारे छलफल भइरहेको छ । जनक शिक्षाले छाप्न नसकेमा अर्को विकल्प पनि हुनसक्छ,’ उहाँले भन्नुभयाे ।साभार ईमेज खबर

Back to top button