पल शाहविरुद्ध थुनछेक बहस जारी, तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा धरौटीको सम्भावना न्यून

बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए ।

बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मात्रै अभियोगपत्र दायर गरिएको थियो । १४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले चैत ८ गते मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएलगत्तै तनहुँ जिल्ला अदालतले चैत ८ गते प्रतिवादी पल शाह र चैत ९ गते उनका म्यानेजर कृष्ण जोशीको बयान लिएको थियो । त्यसलगत्तै दुवैजनालाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताद्वय मोहना अन्सारी र राधिका खतिवडा लगायतका ७ जनाले बहस गरेका थिए ।

बुधबार नै प्रतिवादीका पक्षबाट ३ जनाले बहस गरेका थिए । प्रतिवादी तत्काल भागेर अन्त कतै जाने ठाउँ नरहेको, अभियोग पुष्टी हुने आधार पनि नरहेको कारण प्रतिवादीलाई साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने उनीहरुले माग गरेका थिए ।

बिहीबार पनि प्रतिवादीका तर्फबाट बहस जारी छ । बुधबार बहस नसकाएका कानुन व्यवसायीले बिहीबार कार्यालय समय सुरु भएलगत्तै बहस सुरु गरेका थिए । हाल प्रतिवादीका तर्फबाट तेस्रो नम्बरमा रहेका अधिवक्ताको बहस भइरहेको भन्दै प्रतिवादीका तर्फबाट ९ जनाले वकालतनामा दिएको र थप कानुन व्यवसायी पनि समावेश हुने भन्ने सुनेकाले बिहीबार पनि थुनछेक बहस सकिने सम्भावना कम रहेको श्रेष्तेदार कुँवरले बताए । उनले भने, ‘अहिले (१२ः१५) प्रतिवादीका तर्फबाट तेस्रो नम्बरमा रहनुभएकाले बहस गरिरहनुभएको छ । प्रतिवादीका तर्फबाट ९/१० जना कानुन व्यवसायीले बहस गर्ने भन्ने सुनेको छु । अझै केही कानुन व्यवसायी थपिने सम्भावना पनि छ । त्यसकारण अब बहस लामो हुने र कानुन व्यवसायी पनि थपिने हो भने आजै आदेश आउने सम्भावना कम नै होला । अब बहस छिटो भयो र कानुन व्यवसायी थपिएनन् भने आजै आदेश आउन पनि सक्नेछ ।

सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेका छन् । कर्तव्य ज्यान, जवरजस्ती करणी लगायतका गम्भीर प्रकृतिका कसुरमा भने अधिकांश प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिने गरेको पाइएको छ । तत्काल प्राप्त प्रमाणबाट कसूरदार नदेखिए मात्रै तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने गरिन्छ । शाह प्रकरणमा अडियो रेकर्ड, फेसबुक लगायतको म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदातस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना भने ज्यादै कम छ ।

जिल्ला अदालतले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएमा माथिल्लो अदालतले थुनामुक्त गर्न आदेश नदिएसम्म उनले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने छ ।साभार रातोपाटी

Back to top button