उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्छ : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताउनुभएको छ ।बुधबार किर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताउनुभएको हो ।

नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै उहाँले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताउनुभयो ।महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।

विगतमा आफ्नो पार्टी प्रतिपक्षमा हुँदा पनि आफुले शिक्षा तथा स्वास्थ्य समितिमा र प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटक–पटक यस विषयमा कुरा राखेको भएपनि सुनुवाई नभएको बताउनुभयो । वर्तमान सरकार बनिसकेपछि पनि निरन्तरको संसद अवरोधका कारण यस विषय प्राथमिकतामा पर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।उहाँले नेपालको उच्च शिक्षालाई कतातर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । विश्वविद्यालयमा जिम्मेवारीमा रहनुहुने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्नु नहुने उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयलाई घाउ लाग्दा सबैको मन दुखेको भन्दै उहाँले त्रिविको रङ उडेर ओज र मान–प्रतिष्ठा गुम्दै गएको टिप्पणी गर्नुभयो । उहाँले विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीदेखि विश्वविद्यालयका भीसी र सरोकारवाला सबैले प्रयास गर्नुपर्ने प्रष्ट गर्नुभयो ।राजनीतिक दलसँग आबद्ध भएका मानिसले त्रिवि बिगारेको चर्चा हुने गरेको भन्दै उहाँले उक्त भनाइ गलत प्रमाणित गर्न सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।साभार ईमेज खबर

Back to top button