पाङको खरिबोट गोबिन्दनाथ देव शर्मा माविमा निर्मित चारकोठे भवन उद्घाटन

पर्बत । पर्वतको कुश्मा नगरपालिका १ पाङ स्थित खरिबोट गोबिन्दनाथ देव शर्मा माविमा चारकोठे भुकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको आर्थिक सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा उक्त भवन निर्माण सम्पन्न भएको हो । विद्यालय भवन र कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा निर्मित विद्यालयको प्रवेशद्धारको आज कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले पूर्वाधारको विकास संगै गुणस्तरीय शिक्षामा पनि समूदायले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सामूदायिक विद्यालयका समस्याहरुको बारेमा आफु जानकार रहेको र सकेसम्मका समस्या कुश्मा नगरपालिकाले समाधान गर्दै आएको उहाँले बताउनुभयो । कतिपय नीतिगत व्यवस्था आफ्नो नगरको अधिकार क्षेत्र भित्र नरहेको हुनाले सबै समस्याको समाधान भने हुन नसकेको जोशीले बताउनुभएको थियो । सामूदायिक विद्यालयको गुणस्तर र पूर्वाधार विकासमा गुणात्मक विकास भएपनि अझै पनि बिद्यालयहरुको दरबन्दि मिलानमा समस्या रहेको उहाँले सुनाउनुभयो । सरकारले बिगत २० वर्षदेखि दरबन्दि बढाउने काम अगाडी नबढाउँदा कुश्मा नगरपालिकाका अधिकाँश बिद्यालयमा दरबन्दीको समस्या रहेको उहाँले उल्लेख गर्नुभएको हो । उहाँले कुश्मा नगरपालिकामा पाँच वर्षे कार्यकाल सकिँदै गर्दा आफ्नो काममा कहिँ कतैपनि राजनीतिक भेदभाव नगरेको चर्चा गर्दै सामूदायिक विद्यालय सबैको साझा थलो भएको हुनाले कसैले पनि राजनीतिक प्रतिसोध साच्न नहुने कुरामा जोड दिनुभयो ।

नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले सामूदायिक विद्यालय समूदायको सम्पत्ति रहेको बताउँदै यिनीहरुको संरक्षण र रेखदेखमा समूदायले खेलेको भूमिका उल्लेखनिय रहेको बताउनुभयो । सामूदायिक विद्यालय प्रविधि तर्फ उन्मुख हुनु आँफैमा सुखद पक्ष रहेको बताउँदै तिवारीले कुश्मा नगरपालिकाका विद्यालयहरु प्रविधिमैत्री, पूर्वाधार युक्त र गुणस्तरीयता तर्फ अगाडी बढ्न थालेको बताउनुभयो । उक्त विद्यालय भवन निर्माणका लागि ७० लाख रुपैयाँ खर्च भएको र प्रवेशद्धार बनाउँदा ७ लाख खर्च भएको विद्यालयले जनाएको छ । यो संगै खरिबोट गोबिन्दनाथ देव शर्मा माविमा ४ वटा आधुनिक भवन बनेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञनाथ पौडेलका अनुसार यस विद्यालयमा विद्यालय क्षेत्र सुधार कार्यक्रम मार्फत गतवर्ष २ वटा भवन बनेका थिए । यहाँ २ सय ९० जना विद्यार्थी पढ्दै आएका छन् । निमावि र मावि तहमा एकजना पनि स्थायी दरबन्दीको शिक्षक नरहेको हुनाले नगरपालिका समक्ष शिक्षक दरबन्दी पठाईदिन अध्यक्ष पौडेलले आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा पूर्व गाविस अध्यक्ष एवं शहिद परिवारको तर्फबाट हेम शर्मा पौडेलले विद्यालयले शुन्यबाट शुरु गरेर अहिले सम्म आईपुग्दा धेरै प्रगति पनि गरेको र समस्या पनि झेलेको बताउँदै नगरपालिकाले उचित रुपमा विद्यालयको समस्या समाधान गर्न माग राख्नुभयो । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष बिरेन्द्र रिजाल, विद्यालयका प्रधानाध्याक धनश्याम पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक हरिप्रसाद रिजालले गर्नुभएको थियो ।

Back to top button