ओलीकाे दाबी : स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको छ

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

आज साेमवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी पोलिटब्युराे बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन जना आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको दाबी गर्नुभएको हो । तीन जना आयुक्तलाई बर्खास्त गरेपछि दुई जना आयुक्तले चुनाव गर्न नसक्ने बहानामा चुनाव पर धकेल्ने ओलीको दाबी छ । ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक अङ्गमा ५२ जनाको नियुक्ति भएको थियो । यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्सि बुधवार सुनुवाइ गर्दैछ ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकोप्रति असन्तुष्टि दोहोर्‍याउनुभएकाे छ । आयोग सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्धमा लागेको अध्यक्ष ओलीको आरोप छ । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले पनि दलहरूसँग परामर्श गर्नुपर्छ । अनि चुनाव चिह्नकाे रङ रङबारे पनि दलहरूको परामर्श लिनुपर्दैन, कस्तो स्वेच्छाचारिता हो यो ? गठबन्धनसँगको भित्री परामर्शबाट भएका निर्णयहरू हुन यी । अहिलेसम्म रङको कारणले चुनाव चिह्न चिनिएन भनेर कुनै दल वा मतदाताबाट आयो र ! हामीले रङको कारणले चिनेनौँ, रङको कारणले द्विविधा भयो भन्ने त आएन । त्यस कारण रङ बदलेर हरियो चाहिँ किन राख्नुपर्‍याे ? चिह्नमा हरियो रुखलाई किन राख्नुपर्‍याे ? सूर्य कसरी हरियो हुन्छ । कि त सिम्बोलिक ब्लाकेन ह्वाइटमा जानुपर्‍याे । कि जसको जुन चिह्न हाे, त्यहीअनुसार हामीलाई रातो सूर्य देऊ । यो सत्ता साँठगाँठ होइन भने के हो ?’

हिजो इलाममा पनि अध्यक्ष ओलीले रुखको रङ हरियो अनि सूर्यको रङ पनि हरियो कसरी हुन्छ भनेर प्रश्न गर्नुभएको थियो ।अध्यक्ष ओलीले दलहरूसँग परामर्श नगरि चुनावसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाँले आउँदाे चुनावमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै त्यहीअनुसारको तयारी गर्न पनि सिँगो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो । साभार उज्यालो अनलाईन

Back to top button