गाउँटोलमा चुनावी चहलपहल : शीर्ष नेताहरुको दौडधुप बढ्यो

काठमाण्डाै – स्थानीय तहको चुनाव आउन अब ५३ दिन मात्रै बाँकी रहँदा गाउँटोलमा चुनावी चहलपहल बढेको छ ।प्रायः सबै दलका नेता कार्यकर्ता पालिकास्तरीय कार्यक्रममा व्यस्त देखिएका छन् । गाउँटोलमा विभिन्न दलका कार्यकर्ता भेला, प्रशिक्षण लगायतका चुनाव केन्द्रित कार्यक्रम हुने गरेका छन् । दलका शीर्ष नेताहरुले दौडधुपलाई तीव्रता दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै हुनुहुन्छ । उहाँले सुन्दरहरैँचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन तथा नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिका–९ मा बन्ने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री देउवा दोलखा, नुवाकोट र काभ्रे पुगेर नेता कार्यकर्तासँग चुनावी तयारीबारे छलफल गर्नुभएको थियो।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवासँगै विपक्षी एमाले र सत्तारुढ दलका अरु शीर्ष नेताहरु पनि चुनावी अभियानमा खटिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली हरेक दिनजसो विभिन्न कार्यक्रममा सहभागी हुने गर्नुभएको छ । ओली हिजो इलाम पुग्नुभएको थियो । यसअघि उहाँ मोरङ, झापा, वीरगञ्ज, पोखरा, दोलखा, रामेछाप, काठमाण्डौ लगायतका ठाउँमा भएका पार्टीको कार्यक्रममा सहभागी हुनुभएको थियो।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि काठमाण्डौ बाहिरका कार्यक्रममा व्यस्त हुन थाल्नुभएको छ । माओवादीले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि चुनावी कार्यक्रममा व्यस्त देखिएका छन् । विभिन्न ठाउँमा हुने कार्यक्रममा शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप र घोचपेच पनि हुने गरेको छ । साभार उज्यालो अनलाईन

Back to top button