चैतभित्रै स्थानीय तहको उम्मेदवारी टुङ्ग्याउँछौँ, यसअघिकाे जस्ताे ‘भद्रगाेल’ हुँदैन : कांग्रेस प्रवक्ता महत

सल्यान – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे स्थानीय तहकाे चुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारहरूको टुङ्गो चैत महिनाभित्रै लगाइसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सल्यानले सल्यान उद्योग वाणिज्य सङ्घको सभा कक्षमा आज आइतवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्ताे दाबी गर्नुभएको हो ।

‘यस पटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुङ्गो नलाग्ने स्थिति रहने छैन् । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत महिनाभित्रै उम्मेदवारको टुङ्गो लगाउने कोसिस गर्छाैँ’, प्रवक्ता महतले भन्नुभयो ।

उहाँले पार्टीका तल्लो तहका समितिले टुङ्ग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, जुन तहको उम्मेदवारी हो, त्यहीँ टुङ्गियोस् । सर्वसम्मत भएर टुङ्गियोस् भन्ने केन्द्रको चाहना छ ।

प्रवक्ता महतले नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔँ नेपाली कांग्रेसलाई जिताऔँ’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले यो अभियानका क्रममा पार्टीका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरूले गरेका काम, तीनै तहका सरकारले गरेको कामका बारेमा नागरिककाबीचमा जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने पनि बताउनुभयो ।

कार्यक्रममा प्रवक्ता महतले स्थानीय तहको उम्मेदवारीकाे सामान्य मापदण्ड पनि सार्वजनिक गर्नुभयो । उहाँले चुनावमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउँदा बढी मत आउँछ, त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने बताउनु भयो ।

प्रवक्ता महतले फागुन २९ गतेदेखि सुरु भएको अभियानले स्थानीय चुनावमा नेपाली कांग्रेसलाई विजयी बनाउने आधार तयार गर्ने पनि उल्लेख गर्नुभयो ।उहाँले यस अभियानमा विपक्षीहरूद्वारा स्थानीय तथा राष्ट्रियस्तरमा उठाइएका भ्रम तथा अफवाहलाई पनि चिरिने बताउनुभयो ।

यसैबीच प्रवक्ता महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरूबीच गठबन्धन हुन्छ कि हुँदैन भन्नेबारेमा पनि बोल्नुभयो । उहाँले स्थानीय चुनावमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने/नहुनेबारेमा नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने पनि बताउनुभयो ।

उहाँले सबै दलको लक्ष्य चुनावमा बढी सिट जित्ने हुने भएकोले के गर्दा बढी सिट जितिन्छ, त्यसैअनुसार निर्णय हुने पनि बताउनुभयो । ‘एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौँ, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला’, उहाँले भन्नुभयो । साभार उज्यालो अनलाईन

Back to top button