सत्ता गठबन्धनलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने अध्यक्ष ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिनुभएको छ ।एमाले सम्पर्क समन्वय कमिटीले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताउनभयो । कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमालले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नै पर्ने बताउनुभयो ।

त्यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा पाँच पार्टीको गठबन्धन बनाएर चुनाव लड्न चुनौती दिनुभएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी चुनावमा पाँच पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिनुभएको हो ।

उहाँले नेकपा एमाले चुनावमा एक्लै सामना गर्नको लागि तयार भएको बताउनुभयो । महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनावसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौती दिनुभयो ।

साथै उहाँले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेको आरोप समेत लगाउनुभएकाे छ ।साभार ईमेज खबर

Back to top button