विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्ने तयारी

काठमाण्डाै – अब कुनै नेपाली विदेशमा ठगिएमा अपराधीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपाेलले सहयाेग गर्ने भएकाे छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यसबारेमा जानकारी दिनुभएकाे हाे ।

मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई लैजाने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन इन्टरपोलको सहयोगमा यूएईबाट नेपाल झिकाउने तयारी गरिएको बताउनुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको बताउनुहुँदै उहाँले गैरकानुनी काम गर्ने नेपालीहरु विदेशी भूमिमा पनि नजोगिने बताउनुभयो । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिनुभएको थियो । उहाँले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताउनुभयो । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीलाई पनि सहभागी गराएको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफूले यूएई सरकारसँग पनि आग्रह गरेको बताउनुभयो । अलपत्र परेका नेपालीहरुलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्न यूएई सरकारसँग सहयोगको आग्रह गरिएको बताउनुभयो ।

Back to top button