विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको थापाथलीस्थित सन्यासी अखडाको टहरामा नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौंकै बालाजु माछापोखरीस्थित चौरमा हाल सनाखत नभएका करिब ३२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यसैगरी खोटाङको दिप्रुङचुईचुम्मा गाउँपालिका-६ दिउँ बस्ने ३८ वर्षीय सन्तोष भन्ने जसधन तामाङ सोही गाउँपालिका-५ स्थित खोष्टुङ खोलाको छिपछिप पानीमा मृत अवस्थामा फेला परेका छन् । फागुन २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।

यसैगरी जाजरकोटको भेरी नगरपालिका-३ ठाँटीस्थित जयकृष्ण पोल्टी सप्लायर्समा काम गर्ने भेरी नगरपालिका-१ कालेगाउँ बस्ने २७ वर्षीय भीम बहादुर बुढाथोकी सोही ठाउँस्थित बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।साभार रातोपाटी

Back to top button