देशभर ह्वात्तै बढ्यो गर्मी

काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् ।मौसम विज्ञान विभागको सोमबारसम्मको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको छ ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा बहने उल्लेख गर्नुभयो ।केही दिन तापक्रम निरन्तर बढ्ने सम्भावना रहेकाले सजग हुनु पर्ने उहाँको भनाइ छ ।आज मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताउनुभयो । नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गति २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ । ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठुलो क्षति त गर्दैन । तर रुख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ ।’

उहाँले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सूचना दिनु आवश्यक रहेको बताउनुभयो ।तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानी पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नसक्ने उहाँले बताउनुभयो ।जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तिव्र रुपमा देखा परिरहेको बताउनुभयो ।

Back to top button