फलेवासमा ज्येष्ठ नागरिक सामुदायिक भवन पूरा : मेयर शर्माले गरे उद्घाटन

पर्वत । पर्वतको फलेवास नगरपालिका–५ देवीस्थानमा बनाइएको ज्येष्ठ नागरिक सामुदायिक भवनको निर्माण कार्य पूरा भएसँगै उद्घाटन पनि गरिएको छ।ज्येष्ठ नागरिकहरुको लागि निर्माण गरिएको उक्त भवनको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले सोमबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन्। घरमा एक्लै भएको अवस्थामा समय व्यतित गर्न कठिन हुने, एक्लोपनको महशुस हुने, एक्लै हुँदा आत्तिने र चिन्तामा पर्ने लगायतको समस्या समाधानको लागि देशका धेरै ठाउँमा ज्येष्ठ नागरिकहरुको लागि सामुदायिक भवनहरुको निर्माण कार्य चलिरहेको छ।

ज्येष्ठ नागरिक भवनमा जम्मा हुने ज्येष्ठ नागरिकहरुले आफूहरुका पुराना अनुभवहरु साटासाट गर्ने, नयाँ पुस्तामा आफ्ना भोगाईहरु बताउने र सिकाउने, परनिर्भरताको उमेरमा धार्मिक कार्यमा संलग्न हुने लगायतका क्रियाकलाप गर्न सकुन भन्ने उद्धेश्यले यस्ता भवनहरु निर्माण गरिएका हुन।देवीस्थानमा बनेको यस्तै भवनको उद्घाटन गर्दै नगर प्रमुख पदमपाणी शर्माले ज्येष्ठ नागरिकरु देशका सम्पत्ति भएकाले उनीहरु स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका विषयमा हरेक व्यक्ति सचेत रहनुपर्ने बताए। पाका पुस्ताका अनुभवले नै यूवा पुस्ताले व्यवहार र सामाजिक परिवर्तनको क्षेत्रमा काम गर्न सक्ने भएकाले उनीहरुमा रहेको ज्ञानलाई स्थानान्तरण गरिनुपर्ने उनको भनाई छ। अहिले पनि कतिपय परिवारमा ज्येष्ठ नागरिकहरुलाई हेय भावका रुपमा हेर्ने त कतिपयलाई बृद्धाश्रममा जान बाध्य पार्ने जस्ता काम भइरहेकोप्रति नगरप्रमुख शर्माले असन्तुष्टी व्यक्त गरे।

‘ज्येष्ठ नागरिक यो देशका गहना र सम्पत्ति हुन्। बर्षौदेखिको अनुभवका कारण उहाँहरुको ज्ञानमा धेरै निखारता आएको हुन्छ। तर हामीले विभिन्न वहानामा यो कुरा अस्वीकार गरिरहेको कुरा यदाकदा देख्न पनि पाइन्छ,’ उनले भने, ‘आजका पाका पुस्ताकै सम्मान र सुरक्षा भएन भने भोली हामी पाको पुस्तामा पुग्दा कसले हेरिदिन्छरु हामी सधैँ यूवा रहँदैनौँ, त्यसैले हरेक व्यक्तिले आफूलाई पनि ज्येष्ठ नागरिकको रुपमा हेर्नुपर्छ। बुढेसकालको सहारा बन्नसपर्छ।’

कार्यक्रम बोल्दै फलेवास नगरपालिका प्रवक्ता तथा वडा नं। ४ मुडिकुवाका वडाध्यक्ष टीकाराम गौडेलले राज्यले ज्येष्ठ नागरिकलाई उच्च सम्मानका साथ हेर्दै आएको र उनीहरुको सामाजिक सुरक्षाको क्षेत्रमा धेरै लगानी गरिरहेको बताए। सामाजिक सुरक्षा भत्ता, अस्पतालमा औषधि, निशुल्क स्वास्थ्य बीमा लगायतका कुराले पनि ज्येष्ठ नागरिकहरुलाई धेरै सहज भएको उनको भनाई छ। त्यसमा पनि ज्येष्ठ नागरिक भवनहरुले झनै सहज हुने उनको भनाई छ।

भवन उद्घाटनकै अवसर पारेर देवीस्थानका एक सय वर्षिय ज्येष्ठ नागरिक रत्न बहादुर थापा र ९५ वर्षिय भिमप्रसाद रेग्मीलाई नगरप्रमुख शर्माले दोसल्ला ओढाएर सम्मान पनि गरेका छन्। सोही अवसरमा जेष्ठ नागरिक भवनलाई भजनमा प्रयोग हुने वाद्यबादन सामग्रीहरु तथा आमा समुहलाई स्ट्रेचर हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रम देवीस्थानका वडाध्यक्ष भोलानाथ भुसालको अध्यक्षतामा भएको थियो।

Back to top button