म्याग्दीको गुर्जामा नाचगान गरेर शिक्षकलाई तलब भत्ता जुटाउँदै स्थानीय

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका स्थानीय बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन्।जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलब र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’ लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पूजामा नाचगान गरेर शिक्षकको तलबभत्ता जुटाउने गरिएको जानकारी दिनुभयो।

२०६८ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा दुई/दुई जना बालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीसहित १५ जना शिक्षक कर्मचारी छन् । मावि तहमा एक जना पूर्ण र चार आंशिक निजी स्रोतका शिक्षक रहेका छन्त्यालले बताउनुभयो।

नाचगानका अतिरिक्त विद्यालय सञ्चालनका लागि विकास योजनामा काम गरेर ज्यालाबापत पाउने रकमसमेत उपलब्ध गराउने गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोर्खा छन्त्यालले बताउनुभयो । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास छ।

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा झण्डै ३ सय विद्यार्थी छन् । भौगोलिकरुपमा विकट गुर्जामा एउटा मात्रै विद्यालय छ। शिक्षकलाई आकर्षित गराउन गाउँ बाहिरका शिक्षकलाई विद्यालयले आवासीय सुविधा दिएको छ । साभार उज्यालो अनलाईन

Back to top button