कम्युनिस्टहरूले कांग्रेसलाई सत्ता सुम्पिने भन्दा जनताले सिधै हामीलाई जिम्मा लगाए हुन्छ : शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको छ । आज आइतवार कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरु गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आउँदाे चैत २९ गतेपछि फेरि अर्को चरणको अभियान सुरु गर्ने जानकारी दिनुभयाे । उहाँले जनताले सिधै नेपाली कांग्रेसलाई चुनावमा जिताएर सत्ता सुम्पिन आग्रह गर्नुभयो । महामन्त्री शर्माले जनताले कम्युनिस्ट पार्टीलाई सत्ता सुम्पिने र कम्युनिस्टहरूले कांग्रेसलाई सत्ता सुम्पिने गरेको उल्लेख गर्दै सिधैँ जनताले नेपाली कांग्रेसलाई चुनावबाट जिताउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा बितेको पाँच वर्षमा यस्ताे देखियो, जनताले सरकार बनाउने जिम्मा कम्युनिस्ट पार्टीलाई लगाउने तर कम्युनिस्ट पार्टीले चलाउन नसकेर फेरि हामीलाई सुम्पिने, त्यसैले जनतासमक्ष हाम्रो अपिल के हुन्छ भन्दा तपाईँले कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीले हामीलाई सत्ता जिम्मा लगाउने भन्दा सिधै नेपाली कांग्रेस पार्टीलाई जिम्मा लगाउनुस् ।’

 

महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानबाट कांग्रेसले मुख्य आठ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताउनुभयो । उहाँले यो अभियानअन्तर्गत पार्टीले नव मतदाताहरूलाई चुनावकाे प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्रअनुसारकाे अधिकारलाई प्रयोग गर्ने कुरा र अघिल्ला सरकारहरूले गरेको कामको समीक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताउनुभयो । महामन्त्री शर्माले नेपाली कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाएको र जनताको जीवन रक्षालाई प्रधान विषय बनाएको तथा आउँदाे चुनावसम्म पुग्दै गर्दा प्रायः सबैलाई खाेप लगाइसक्ने सङ्कल्प लिएको पनि बताउनुभयो ।

महामन्त्री शर्माले नेपाली कांग्रेस पार्टीले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरूलाई आग्रह गर्नुभयो । उहाँले कम्युनिस्टहरूले एमसीसीको बेला सडकमा कराएको युवकलाई भोटको माध्यमबाट मात्र हेरेको आरोप लगाउँदै नेपाली कांग्रेसले युवकको भविष्यलाई पनि हरेको बताउनुभयो । महामन्त्री शर्माले नेपाली कांग्रेसको यो अभियानमा आफ्नो पार्टीका मात्रै कुरा सुनाउने नभइ जनताका आवाज, जनताका चाहनाहरूको बारेमा पनि जनभावना सुन्ने बताउनुभयो । उहाँले यो अभियानबाट आम जनतालाई विभिन्न भोटर प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने बताउनुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘हामी १८ देखि २३ वर्ष पुग्दै गरेका पहिलो पटक मत दिने साथीहरूलाई हाम्रा कुरा पनि राख्छौँ, प्रशिक्षित पनि गर्दछौँ । उनको भविष्यका बारेमा उनीसँगै सल्लाह गरेर, वीपी कोइरालाले देख्नुभएको सपनासँग त्यो युवाको सपनालाई एकाकार गरेर कसरी लैजान सकिन्छ भन्ने संवाद पनि गर्दछौँ । साथै त्यो पुस्ताको अपेक्षामा स्थानीय तह कस्तो हुनुपर्छ ? हामी त्यो पनि छलफल गर्दछौँ । अभियानको क्रममा स्थानीयस्तरले घोषणापत्र निर्माण गर्ने समिति बन्छन् । घोषणापत्र निर्माण गर्दैगर्दा एक कोठाभित्र बसेर केही लेख्ने होइन, विकाससँग सम्बन्धित स्थानीय विषयहरू के छन् ? विद्यालय, बजार, तटबन्धका विषयहरू, बाटो, उद्यमका विषयहरू, रोजगारीका विषय, यी समग्र विषयमा विकास संवाद नागरिक पङ्क्तिसँग गरेर आएका कुरालाई राखेर हामी घोषणापत्रलाई अन्तिम रूप दिन्छौँ ।’

महामन्त्री शर्माले यो अभियानमा कांग्रेसलाई मात्र नभइ अन्य राजनीतिक दलहरूलाई पनि मर्यादित ढङ्गले चुनाव लड्न आग्रह गर्ने बताउनुभयो । उहाँले आउँदा चुनावहरूमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने वा गठबन्धनसँगै रहेर प्रतिस्पर्धा गर्ने भन्ने कुरा एक महिने यो अभियानपछि आएको केन्द्रीय समितिको निर्णयपछि भन्न सकिने बताउनुभयो । महामन्त्री शर्माले यो अभियानमा जाँदा कांग्रेसले कुनै पनि पार्टीलाई आरोप, प्रत्यारोप नलगाइ जनताका कुरामा विशेष चासो राख्ने बताउनुभयो । उहाँले आजदेखि सुरु भएको यो अभियान क्रमशः वडा तहमा विकेन्द्रिकृत हुने बताउनुभयो । यस अभियानमा ७७ जिल्लाकै केन्द्रिय प्रतिनिधिहरूले १० दिनसम्म हरेक स्थानीय पालिकामा पुगेर जनताका कुराहरू सुन्ने र उनीहरूको अपेक्षाहरू सुन्ने उहाँकाे भनाइ छ । उहाँले सरकार सङ्घीय प्रणालीमा गइसकेपछि सात प्रदेशमा सात प्रदेश कार्यसमितिले यो अभियानको काम गर्ने बताउनुभयो ।

महामन्त्री शर्माले यो अभियानमा जनताको विश्वास जितेर आउँदाे चुनावमा नेपाली कांग्रेसलाई जिताउने र सबै नेता, कार्यकर्तालाई जिम्मेवारी पूरा गर्न अवसर दिने पनि बताउनुभयो । उहाँले यो अभियान विशेष गरेर समृद्धि, संस्कार, सङ्गठनलाई नयाँ ढङ्गले अघि बढाइ एकाकार गर्ने कुरामा केन्द्रित हुने बताउनुभयो । साभार उज्यालो अनलाईन

Back to top button