प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस

काठमाण्डाै – प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ । आज आइतवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेस गर्नुभएको हो । प्रस्तावमाथि आउँदो चैत २ गतेदेखि संसदमा छलफल सुरु हुनेछ ।

महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले कात्तिकदेखि माघसम्म प्रधानन्यायाधीशकै कारण सर्वोच्च अदालत ठप्पजस्तै भएको, भ्रष्टाचार बढेको गुनासो आएको र पटक–पटक सर्वोच्च अदालतको न्याय सम्पादनमा शुद्धीकरणकाे आवाज उठे पनि त्यसाे हुन नसकेको उल्लेख गर्नुभयो ।

यस्तै प्रधानन्यायाधीश जबराकै कारण अदालतप्रति नागरिकको भरोसा घट्दै जान थालेको, संविधानले दिएको क्षेत्राधिकारभित्र रहेर राणाले जिम्मेवारी पूरा गर्न नसकेको, कार्यक्षमता र आचरणको अभाव देखिएका विषय पनि महाअभियोग प्रस्तावमा उल्लेख छन् ।

जबराले क्षेत्राधिकार र नैतिकता बिर्सेर कार्यपालिकामा समेत भाग खोजेको आरोप पनि प्रस्तावमा उल्लेख छ । जबराविरुद्ध यही फागुन १ गते सत्ता गठबन्धनका ९५ जना सांसदले संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । यस्तै फागुन २२ गते नेकपा एमालेका सांसदसमेत रहेका महाअभियाेग सिफारिस समिति गठन भएकाे छ । साभार उज्यालो अनलाईन

Back to top button