कांग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन गराएको हो ।

घिमिरे नेपाल बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल निकट कानुन व्यवसायीको तर्फबाट साझा उम्मेदवार छन् । बारको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार तय गरेका छन् । बारको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा मतदान हुनेछ ।साभार अनलाईन खबर

Back to top button