
काठमाण्डाै – श्रीलङ्कामा भइरहेको तेस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी भएको छ । आज बिहीवार कोलम्बोमा भएको खेलमा नेपालले श्रीलङ्का पुलिसलाई एक सय ४४ रनले हरायो ।नेपालले दिएको तीन सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का पुलिस ३६ ओभर पाँच बलमा एक सय ८७ रन बनाउँदा अलआउट भयो । बलिङतर्फ नेपालका करण केसीले चार तथा सागर ढकाल र सन्दीप लामिछानले दुई–दुई विकेट लिए । यस्तै कमलसिंह ऐरीले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए ।
नेपालले यसअघि भएका दुई वटै खेलमा श्रीलङ्का नेभीलाई हराएको थियो । अन्तिम अभ्यास खेलमा भोलि शुक्रवार नेपालले श्रीलङ्का संयुक्त ११ सँग खेल्नेछ । भोलिको खेलमा श्रीलङ्काको राष्ट्रिय टोलीका केही पूर्वखेलाडी पनि सहभागि हुनेछन् ।विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । साभार उज्यालो अनलाईन