सरकार र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा छ : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सरकार र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा रहेको बताउनुभएको छ ।बुधबार त्रिशुली नदीमा भएको १९औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताउनुभयो ।

मन्त्री गहतराजले खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्योमसँग जोड्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्‍याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।र्‍याफ्टिङ लगायत अन्य जलासय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली, सुनकोसी र भेटेकासीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने बताउनुभयो । उहाँले र्‍याफ्टिङ जस्ता अन्य पानीमा खेल्ने खेललाई सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सिइओ) डा. धनञ्जय रेग्मीले र्‍याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गदै जानुपर्ने बताउनुभयो । उहाँले र्‍याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्ड विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने प्रतिबद्धता जनाउनुभयो ।डा. रेग्मीले धेरै अन्तर्राष्ट्रिय मुलुकहरूले नेपालको सिको गरिरहेको बताउनुभयो । उहाँले नेपालमा र्‍याफ्टिङ गर्ने सक्ने नदीहरूलाई राम्रोसँग प्रयोग गर्नु नसकेको दाबी गर्नुभयो ।

त्यस्तै, मेघ आलेले त्रिशुली नदीमा कोरोना महामारीपछिको पहिलो १९औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप भएको बताउनुभयो । उहाँले त्रिशुली नदीबाट र्‍याफ्टिङ मात्रै नभएर रिभर पर्यटनको सुरुवात भएको बताउनुभयो ।तर, अहिले त्रिशुली नदीमा रिभर पर्यटनको लागि अबौं लगानी भए पनि र्‍याफ्टिङको लागि महत्वपूर्ण स्थानमा विद्युत्को लागि ड्याम बनाउने योजनाले समस्या आएको बताउनुभयो । त्रिशुलीको र्‍याफ्टिङ क्षेत्रमा सुपर त्रिशुली हाइड्रोपावर बनाउनु उचित नभएको उहाँको दाबी छ ।

त्यस्तै र्‍याफ्टिङ खेलाडी हरि आलेले त्रिशुली नदीको संरक्षण नभएर दुषित बनाउने काम भएकाले र्‍याफ्टिङ गर्ने वातावरण नभएको बताउनुभयो । उहाँले त्रिशुलीको र्‍याफ्टिङ गर्ने महत्वपूर्ण क्षेत्रमा विद्युतीय ड्याम बनाउने भएकाले ड्याम बनेसँगै नदी र र्‍याफ्टिङ खेलाडीको भविष्य नै समाप्त हुने बताउनुभयो ।खेलाडी आलेले त्रिशुलीमा कुनै पनि हालतमा विद्युतिय ड्याम बन्न नहुने बताउनुभयो । उहाँले यदि ड्याम बन्यो भने र्‍याफ्टिङ नै बन्द हुने दाबी गर्नुभयो ।ईमेज खबर

Back to top button