सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन ओलीलाई कांग्रेस महामन्त्री शर्माको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिनुभएको छ ।महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गर्नुभयो ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिनुभएको हो ।

अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गर्नुभयो । उहाँले अध्यक्ष ओलीलाई मतपत्रको रङ भन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिनुभयो ।

‘कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौं,’ उहाँले भन्नुभयो, ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔं ।’

महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङबाट नडराउन आग्रह गर्नुभयो । उहाँले आयोग संविधान र निर्वाचनसँग सम्बन्धित नियमावलीबाट बाँधिएको हुने बताउँदै निर्वाचनको प्रक्रियामा जाँदा विशेष गम्भीरता पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

आयोग सैद्धान्तिक रूपमा स्पष्ट हुनुपर्ने र दलहरूले पनि आयोगमाथि तार्किक प्रश्नमात्रै गर्नुपर्ने उहााको भनाइ छ । उहाँले एमाले अध्यक्ष ओलीले नबोल्नुपर्ने कुरा बोलेको भन्दै विगतको परम्परालाई हेर्न आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले सरकारको नेतृत्व गरेका बेला एमाले अध्यक्ष ओलीले गरेका आश्वासनहरूको समीक्षा गर्न पनि सुझाव दिनुभयो । ५ वर्षको शासन चलाउँदै गर्दा ३ वर्षमा कति ठिक ढंगले शासन गर्नुभयो भनेर पनि सैद्धान्तिक, वैचारिक र समृद्धिको बहस गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘मतपत्रमा कालो, हरियो रातो, पहेँलो यस्तो रङको बारेमा वहस गर्ने विषय होइन,’ उहाँले थप्नुभयो, ‘सम्माननीय पूर्व प्रधानमन्त्रीज्यूलाई यो खालको खुद्रा वहस नभएर जिम्मेवार ढंगको राष्ट्रिय प्रश्नको वहसमा आउन म अपिल गर्दछु ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफ्नो मतचिन्ह हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्न आयोगलाई दवाव दिएको आरोप लगाउनुभएको थियो ।ईमेज खबर

Back to top button