चुनावमा मिलेर जाने कुरा छ, गठबन्धनका दलको चित्त दुखाउने काम नगर्नुस् : देउवा

पर्सा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने सङ्केत गर्नुभएको छ । आज बिहीवार वीरगञ्जमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एक्ला एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई चुनावसम्मै लैजाने विषयमा सकारात्मक छलफल भइरहेको बताउनुभयो ।

अरूसँग गठबन्धन नगरि चुनाव लड्दा विगतमा धेरै ठाउँमा पराजित भएको स्मरण गर्दै देउवाले आउने चुनावमा मिलेर जाँदा स्थानीयदेखि सङ्घीय सरकारसम्म गठबन्धनकै सरकार रहिरहने दाबी गर्नुभयो । ‘हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? तपाईँहरूलाई थाहै छ, अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ’, देउवाले भन्नुभयो ।

उहाँले गठबन्धनका दलहरूलाई चित्त दुख्ने गरी आरोप नलगाउन पनि नेपाली कांग्रेसका नेता/कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘चुनावमा मिलेर जाने कुरा छ, गठबन्धनका दलको चित्त दुखाउने काम नगर्नुहोला’, देउवाले भन्नुभयो । माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरूले साथ दिएकैले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सम्भव भएको भन्दै देउवाले अरू दलको चित्त दुख्ने गरी बोली व्यवहार नगर्न पनि नेता/कार्यकर्तालाई सुझाव दिनुभयो । उज्यालो अनलाईन

Back to top button