पर्वत धाईरिङ्गको सडक बिबादमा सहमती

पर्वत। पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा संचालित मिलनचोक–सल्यान–गुन्टेखेत–घाखेत–धारापानी मोटरबाटोको बिवाद तत्कालका लागि समाधान भएको छ ।सडक निर्माणका क्रममा गतबर्षदेखी गाउँवस्तीका विभिन्न ठाउँमा मेशिन लगाएर जग्गा भत्काएको र उक्त ठाउँमा संचालित नहर बाटो र घर बस्तीहरु क्षतविक्षत अवस्थामा रहेकाले स्थानीयले उक्त स्थानमा पुर्वाधार निर्माणका कार्यहरु गर्नको लागि ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालयमा ध्यानकर्षण गराएका थिए ।

स्थानीय काँग्रेस नेता राजु आचार्यको नेतृत्वमा धाईरिङबासीले उक्त क्षतविक्षत भएको स्थानमा तत्काल उपयुक्त संरचनाको निर्माण हुनुपर्ने, सडक निर्माणका क्रममा क्षती भएकाहरुलाई क्षतीपुर्तीको व्यवस्था गर्नुपर्ने र आवश्यक संरचना निर्माण कार्यलाई प्राथमिकता राख्नुपर्ने माग गदै आएका थिए । स्थानीयले माग सुनुवाई नभएर आन्दोलनका कार्यक्रम गर्ने चतवानी दिएका थिए ।

उक्त मागप्रति बुधवार सुनुवाई भएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको रोहबरमा जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकी र पूर्वाधार विकास कार्यालयका प्रतिनिधीले अनुगमन गरेका छन् । अनुगमन प्रश्चात समस्या भएको ठाउँमा तत्काल काम गर्ने सहमती भएको छ ।

२८ करोड लागतमा निर्माण हुन लागेको सडक ०७६ मंसिर ६ मा सम्झौता भएको थियो । दुई बर्षभित्र सक्नुपर्ने सकड निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीय हैरान भएका छन् । सडक निर्माणको जिम्मा हिम्डुडु एण्ड बोकर कन्स्ट्रक्शन प्रा.लिले लिएको हो । दश किलो मिटर सडक कालोपत्रे हुनेभने पनि हालसम्म कालोपत्रेको कामले गति लिन नसक्दा स्थानीय हैरानीमा छन् ।धाईरिङमा बर्षनी करोडौको तरकारी उत्पादन हुँदै आएको छ । सडक नहुँदा स्थानीयले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन समस्या भएको बताउँदै आएका छन् ।

Back to top button