तल्लोमोदी जलविद्युत आयोजनाका कर्मचारीहरु सुविधाको माग गर्दै आन्दोलित

पर्वत । मोदी इनर्जि प्रालिद्धारा सञ्चालित तल्लोमोदी जलविद्युत आयोजनाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आयोजनाको काममा विगत १३ वर्षदेखि कार्यरत कर्मचारीलाई बिनाकारण कामबाट निकालिएको र पाउनुपर्ने अवकाश पश्चातको रकम नपाएको भन्दै कर्मचारीले कुश्मा नगरपालिका ८ परादीमा रहेको कार्यालयमा ताला लगाईदिएका छन् । विगत पाँच दिनदेखि कार्यालयमा तालाबन्दी गरेर कर्मचारीहरुले आफुहरुको माग सम्बोधन गर्न माग गरेका छन् । आयोजनामा कार्यरत सुरक्षागार्ड र करारका कर्मचारीहरु आन्दोलित भएका हुन् । आयोजनाका कर्मचारीलाई सामाजिक सुरक्षा ऐन अन्तर्गत सुविधा दिने भनेर काममा लगाएपनि सुविधा नपाएको आन्दोलनरत पानी ईन्चार्ज ईन्द्रवहादुर पौडेलले बताउनुभयो । आयोजना पक्षले आफुहरुलाई विनाकारण कामबाट हटाएको र पूर्व सहमती अनुसारको सुविधा नदिएको पौडेलले बताउनुभयो । आयोजनाका समन्वयकर्ता विश्वामित्र केसीले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो । जिल्ला प्रसासन कार्यालयले आयोजनाको समस्याका बारेमा छलफल गरेपनी कर्मचारीहरुको विषयमा कुनै सहमती जुटाउन सकेको छैन । जिल्ला प्रसासनले छलफलका लागि बोलाएपनि आयोजना प्रमुख भने छलफलमै सहभागी नभएपछि कुनै निष्कर्ष निकाल्न नसकिएको बताईएको छ ।

Back to top button