पत्रकार बबिता बस्नेत र बन्दना राणालाई बहिष्कार अभियान चलाइनु दुःखद् : पत्रकार महासंघ

वरिष्ठ पत्रकार बबिता बस्नेत र बन्दना राणाविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार बस्नेतले लेखेको लेख र पत्रकार राणाले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर उनीहरुलाई बहिष्कार गर्नेसम्मका अभियान सामाजिक सञ्जालमा देखिनु दुःखद घटना भएको महासंघले जनाएको छ ।

कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता भएको महासंघका सचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ– ‘कसैले सार्वजनिक रूपमा व्यक्त गरेको विचारको विरोध वा खण्डन गर्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै हो । लोकतान्त्रिक सभ्य समाजमा यस्तो विरोध वा खण्डन बहस र अभिव्यक्तिको माध्यमबाट स्वस्थ ढंगबाट नै हुनुपर्छ भन्ने महासंघको मान्यता छ ।

तर पत्रकार बस्नेत र राणाले राख्नुभएको विचारका कारण उहाँहरूलाई हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु उहाँहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनुका साथै लोकतान्त्रिक समाजलाई सुहाउँदो हुँदैन ।’महासंघ यस विषयसम्बद्ध सबैमा बहस र संवादमार्फत नै समस्याको समाधान खोज्न आग्रह गरेको छ ।साभार रातोपाटी 

Back to top button