विदेशमा अलपत्र हुने अवस्था नआओस भन्दै ‘भिजिट भिसा’मा कडाइ

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ ।पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि शर्तहरु राखेर कडाइ गरेको जनाएको छ ।

सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए÷नभएका हेर्ने व्यवस्था राख्न कार्यदलले सिफारिस गरेको छ  । सरकारका यी शर्तप्रति टिकाटिप्पणी भइरहेका बेला गृहले यी शर्तहरु संविधान र मानवअधिकार विपरित नभइ नेपाली नागरिकहरुको सुरक्षाको लागि भएको स्पष्ट पारेको छ ।

बुधबार कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न प्रलोभनमा परेर भिजिट भिसामा खाडी मुलुक जाने र अलपत्र पर्ने गरेको भन्दै कार्यदलले नागरिक सुरक्षाका लागि प्रतिवेदन बनाएको बताउनु भयो । उहाँले महिला अधिकारको हनन गरेर भिजिट भिसामा विभिन्न शर्त राखिएको भन्ने कुरा गलत भएको बताउनुभयो । सहसचिव पोखरेलले विदेश जाने नेपाली नागरिकलाई अलपत्र नपार्न सिमित प्रावधान बनाउनु राम्रो भएको बताउनुभयो ।

यसअघि कार्यदलले भिजिट भिसामा विदेश जाने महिलाका लागि अतिरिक्त शर्त समेटेर ‘भिजिट भिसा कार्यविधि÷निर्देशिका’ बनाउन सरकारलाई सिफारिस गरेको थियो । जसमा भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा पार्नुपर्ने र महिलाको हकमा थप शर्त समावेश गरेर ‘भिजिट भिसा कार्यविधि÷निर्देशिका’ ल्याउन सुझाव दिएको छ ।साभार ईमेज खबर

Back to top button