देश छाडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घको आग्रह

देश छोडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घले आग्रह गरेको छ । राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी निकायका प्रमुख मार्टिन ग्रिफिथ्सले युक्रेनका नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपिल गर्नुभएको हो ।

न्युयोर्कमा सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उहाँले रुस–युक्रेन युद्धका कारण युक्रेनमा फसेका लाखौँ नागरिकको दयनीय अवस्थाबारे चर्चा गर्नुभयो । हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उल्लेख गर्दै उहाँले जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा जान दिन आग्रह गर्नुभएको छ ।

राष्ट्र सङ्घका लागि रुसी राजदूतले आक्रमण भइरहेका क्षेत्रबाट मानिसलाई अन्तै जान नदिएको युक्रेनको आरोपबारे खण्डन गर्नुभएको बीबीसीले जनाएको छ । युक्रेनमा युद्ध सुरु भएदेखि हिजो १२औँ दिनसम्म झण्डै १७ लाख नागरिकले देश छाडेका छन् ।

Back to top button