जलजला ८ नाग्लीवाङको वडा कार्यालय शिलन्यास

पर्वत । पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङको वडा कार्यालय भवन बनाउन थालिएको छ । वडा कार्यालय भवनको आज वडाध्यक्ष हरिविकास जिसीले शिलन्यास गर्नुभएको छ । ८ कोठे भवन एक वर्षमा सक्ने लक्ष्य भएपनि ठेकेदार कम्पनीले ६ महिनामै सक्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष जिसीले जानकारी दिनुभयो ।

१ करोड ४० लाखको लागतमा भवन निर्माण गर्न थालिएको उहाँले बताउनुभयो । जिसीले जिर्ण र पुरानो वडा कार्यालय भवन नयाँ स्वरुपमा परिणत हुनु नाग्लीवाङवासीका लागि खुशीको कुरा भएको बताउनुभयो । संघीयताको सवलताका लागि स्थानीय सरकारका कार्यालय पनि दिगो हुनुपर्ने मान्यता अनुसार वडा कार्यालय भवन निर्माण गर्न थालिएको बताउँदै जिसीले यसको शुरुवात देखि अन्तिम सम्म निगरानी राख्न पनि स्थानीयलाई अनुरोध गर्नुभयो ।

नेपाली काँग्रेस पर्वतका पूर्व उपसभापति दुर्गावहादुर खत्रीले वडा कार्यालय भवनको निर्माणमा चासो दिने र पहल गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले भवन निर्माणका लागि नाग्लीवाङवासीहरुले वडा कार्यसमितिलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य अनिता रेग्मी, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य सोमवहादुर जिसी, नेकपा एमालेका वडा कमिटीका अध्यक्ष एकवहादुर केसी, नेपाली काँग्रेसका वडा सभापति श्रीकृष्ण रेग्मी, माओबादीका गगनवहादुर महत, समाजसेवी हरेमवहादुर खत्रीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण रिजालले गर्नुभएको थियो । ९ वटा वडा रहेको जलजला गाउँपालिका वडा नम्बर २ र ४ मा पनि नयाँ भवन बनाउन थालिएको छ ।

Back to top button