नेपालकै पहिलो ‘ग्लास स्काई ब्रिज’पर्वतमा सञ्चालन

पर्वत । नेपालमा नै पहिलो पटक पर्वतमा सिसाका पाताहरू राखिएको आकाशे पुल सञ्चालनमा आएको छ।साहसिक खेल जीपलाईन तथा ‘स्काई स्वीङ’ सञ्चालनमा ल्याएको कम्पनी ‘द हार्नेस प्रालि’ ले कालीगण्डकी नदीको सतहबाट दुई सय २८ मिटर उचाइमा पुल निर्माण गरेको हो। सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको  जीपलाइन सञ्चालन गरिरहेको कम्पनीले साहसिक खेलका माध्यमबाट जिल्लामा पर्यटकहरूलाई आकर्षित गर्नको लागि सिसाको पुल निर्माण गरेको हो।

कम्पनीका निर्देशक सुनिल बानियाका अनुसार चिनिया प्रविधिमा आधारित भएर चीनबाट नै आयात गरिएको विशेष खालको सिसा राखेर पुलको निर्माण गरिएको छ। पारदर्शी सिसाबाट सिधै तल कालीगण्डकी नदी छ्याङै देखिने विशेषता पुलको रहेको र नेपालमा यस्तो खालको पुल अहिलेसम्म नबनेका कारण पर्यटकहरु ध्यान तानिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ।

‘कालीगण्डकी नदीको सतहबाट दुई सय २८ मिटरको उचाइमा सिसाको पुलमा हिँडेर आनन्द लिनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तानिन्छ भन्ने हामीलाई लागेको छ,’ बानिया भन्छन्, ‘साहसिक खेलमा रमाउनेहरूको लागि क्लासिक वा सुपर म्यान जीपलाइन सहित स्काई ब्रिजमा हिँडेर प्रकृति नियाल्नुको आनन्द पनि छुट्टै खालको छ।’ पुललाई आम्दानीको रूपमा भन्दा पनि पर्यटकीय आकर्षणको रूपमा अगाडि बढाउने तथा जीपलाईन र स्काई स्वीङ सहित प्याकेजको साहसिक खेलको रूपमा विकास गरिएको छ।

जीपलाईनका सञ्चालक राजकुमार बस्नेतका अनुसार पुलमा टीकटक भिडियो खिच्नका लागि विशेष सुविधाहरू र भौतिक संरचनाहरू निर्माण गरेर आन्तरिक पर्यटकहरूलाई पनि आकर्षणको केन्द्रमा राखिएको छ। ‘स्काई ब्रिज’ मा जानेहरूका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ शुल्क तोकिएको छ।


उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन्। विशेष पूजा गरेपछि तिमिल्सिनाले रिबन काटेर सिसाको पुलमा चढेका थिए। त्यस अवसरमा बोल्दै उनले कुनै बेला हिँडाइको दुःखका कारण भौगोलिक अवस्थालाई धिक्कार्नुपरेको कालीगण्डकी खोचमा अहिले साहसिक खेलहरूले नयाँ फड्को मारेको बताए। प्रकृतिले नै कालीगण्डकी नदीको दुवैतर्फको किनारमा दिएका डर लाग्दा खोँच र भीरमा निर्माण भएका साहसिक खेलका गन्तव्यले पर्वत सदरमुकाम मात्र नभई समग्र जिल्लाको समृद्धिमा सहयोगी भूमिका खेलको उनको भनाई छ।

‘कुनै बलेवाबाट कुश्मा वा यताबाट उता जाँदा सुई सुई गर्दै हिँड्नुपर्ने थियो। यस्तो भीर र खोला नभएको भए त सुख पाइने थियो भन्ने लाग्थ्यो। तर अहिले यही नदी र भीर साहसिक खेलका लागि गन्तव्य बनेका छन्,’ उनले भने, ‘निजी क्षेत्रबाट लगानी गरेर बनाइएका यस्ता ठाउँको प्रवर्द्धनको लागि राज्यले पनि केही गर्नुपर्छ। जोखिमकाबीच भीरमा लगानी गरेर पर्यटक तान्ने लगानीकर्ताहरूलाई हार्दिक धन्यवाद छ।’
‘द हार्नेस प्रालि’ ले कालीगण्डकी नदीलाई दुई ठाउँमा ‘क्रस’ गर्ने गरी १४ सय ८० मिटरको लम्बाइमा सुपर म्यान जीपलाईन सञ्चालन गरिरहेको छ। जीपलाईन, रिसोर्ट, हाइड्रोलिक स्काई स्वीङ र सिसाको पुल निर्माणमा हालसम्म करिब १५ करोड रुपैयाँ लगानी भएको कम्पनीका अध्यक्ष विदुर पौड्यालले बताए।

Back to top button