कोरिया जाने पर्खाइमा रहेकाहरूलाई छिटो लैजान मन्त्री श्रेष्ठकाे आग्रह

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा आज साेमवार कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरू रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गर्नुभयो । अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने यात्रुले कम शुल्कमा जान पाउनेछन् ।

एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बताउनुभएको थियो । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उहाँको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वरेण्टीन बस्नुपर्ने भएकोले क्वरेण्टीन अभावले धेरै श्रमिक एकै पटक लैजान नसकिएको उहाँले बताउनुभयो । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिनुहुँदै एचआरडी काेरियाका नेपाल प्रतिनिधि डकले छिटो सञ्चालन हुने विश्वाससमेत दिलाउनुभयो ।

यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो हप्तादेखि श्रमिक लैजान रोकिएकोमा भर्खरै फेरि खुला गरिएको थियो । झन्डै सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना सङ्क्रमणपछि नाै सय ८४ जना गइसकेका छन् भने आज एक सय ७४ जना जाँदैछन् । यसपछि मार्च १६ गते एक सय ७० जना जानेछन् । नेपालीहरू मेहनती र इमानदार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताउनुभयो । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आउनुभएको छ । साभार उज्यालो अनलाईन

Back to top button