डाक्टरको लापरवाहीले सुत्केरी महिलाको पेटमै छुट्यो स्टिच निडिल सुई

रौतहटमा डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् ।

प्रसूति पीडा भएपछि अम्बिकालाई उनको परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेका थिए । उनको अप्रेशनमा डा.संजितकुमार साह नेतृत्वको टोली खटिएको थियो ।   अम्बिकालाई गएराती सुत्केरीको बेथा लागेपछि सो अस्पतालमा पुर्याइएको उनको परिवारले जानकारी दिएको छ । सुरुमा डा.संजितकुमारको टोलीले तत्काल अपरेसन गरेको थियो ।

अप्रेसनपछि स्वस्थ बालिकाको जन्म भएको जितेन्द्रको परिवारले जानकारी दिएको छ । अप्रेशनपछि डाक्टरले टाँका लगाउने स्टिच निडिल सुई पेटमै भुलेको बताइएको छ ।  अप्रेसन गरिएको केही घण्टामै सुत्केरी महिलाको पेटमा असह्य पीडा भएको र डाक्टरहरुकै आग्रहमा एम्बुलेन्स मगाएर अम्बिकालाई चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा लिएर लगिएको जितेन्द्रको परिवारले बताए ।

चन्द्रपुर अस्पतालका प्रमुख डा.सुभाष चौधरीका अनुसार सोमबार बिहान महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेका २ थान स्टिच निडिल सुई निकालिएको छ । अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पतालले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले घटनाको पुष्टि गर्दै त्यसमा डाक्टरको चरम लापरबाही रहेकोे प्रतिक्रिया दिए ।

Back to top button