पर्वतमा १३ औँ चरणमा हात्तिपाईले बिरुद्धको औषधी ख्वाउने तयारी शुरु

पर्वत । पर्वतमा १३ औँ चरणमा हात्तिपाईले रोग विरुद्धको औषधी ख्वाईने भएको छ । निरन्तर १२ औँ चरण सम्म आम औषधी ख्वाएपनि हात्तिपाईले रोग उन्मुलन नभएपछि १३ औँ चरणमा पनि औषधी ख्वाउन थालिएको हो । कुश्मा नगरपालिकाले पनि यसका लागि तयारी गरेको छ । नगरपालिकाले कुश्मा नगरपालिका स्तरीय योजना तथा बहुपक्षिय निकाय गोष्ठिको आयोजना गरि औषधी ख्वाउने अभियान सञ्चालन गर्ने जनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले आम औषधी सेवन गरेर कुश्मा नगरपालिका मात्रै नभएर समग्र जिल्लालाई हात्तिपाईले मुक्त बनाउन अनुरोध गर्नुभयो । उहाँले प्रभावित क्षेत्रमा विशेष अभियान समेत सञ्चालन गर्नुपर्ने आवश्यक रहेको भन्दै स्वास्थ्यकर्मीलाई यसका लागि घरघरै पुगेर अवस्थाको मुल्यांकन गर्न पनि सुझाव दिनुभयो । लामिछानेले अभियानलाई सफल बनाउन राजनीतिक दल, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार तथा नागरिक समाजले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कुश्मा नगरपालिकामा फागुन २८ गते देखि चैत ६ गतेसम्म हरेक टोलटोलमा पुगेर स्वास्थ्यकर्मीले औषधी ख्वाउने स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो । कुश्मा नगरपालिका हात्तिपाईले रोग प्रभावित क्षेत्र समेत हो । यो नगरपालिकाको वडा नम्बर १ पाङ हात्तिपाईले रोग प्रभावित क्षेत्र रहेको हुनाले पनि कुश्मा नगरपालिकाले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने लक्ष्य तय गरेको जनाएको छ । पाङमा सन् २०१४, २०१६ र २०१८ मा गरिएको बेसलाईन सर्भेमा २ दशमलव ९५ प्रतिशतमा हात्तिपाईले रोगको संक्रमण रहेको पाईएको थियो । जिल्लाको फलेवास नगरपालिका ५ खानीगाउँ गतवर्ष सम्म प्रभावित क्षेत्रको रुपमा थियो । गतवर्षको बेसलाईन सर्भेमा खानीगाउँ हात्तिपाईले मुक्त भैसकेको छ । यद्यपी पाङमा भने २०१८ यता सर्भे भएको छैन । जिल्लामा अझै पनि हात्तिपाईले रोग निवारण नभएको ठहर गर्दै यस वर्ष पनि ६१ वटै वडामा औषधी ख्वाउने अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सन्तोष पौडेलले बताउनुभयो । पर्वत अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले हात्तिपाईले रोगको औषधी ख्वाउने अभियान पर्वत सहित बागलुङ र लमजुङमा पनि १३ औँ चरणमा सञ्चालन गर्न लागिएको अवगत गराउनुभयो ।

२ वर्षमुनीका बच्चा, जिर्ण अवस्थाका बिरामी, गर्भवती महिला र सात दिनका सुत्केरी महिला बाहेक सबैले यो औषधी खान मिल्ने बताउँदै क्षेत्रीले औषधी खाने कुरामा कुनै संकोच नमान्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछाने, कुश्मा नगरपालिका १ पाङका कार्यवाहक वडाध्यक्ष खगेन्द्र रिजाल बिरेन्द्रले समूदाय स्तरमा अभियान सफल बनाउन आफुहरु सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाउनुभयो । कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक उमाकान्त सापकोटाको स्वागत र प्रसासन शाखा प्रमुख धुर्वराज पौडेलको सञ्चालनमा गोष्ठि सम्पन्न भएको थियो ।

 

Back to top button