पर्वतमा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर :एकै दिन ७८ जना प्रवेश

पर्वत । पछिल्लो समय पर्वतमा एमाले र माओवादी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ । यसैक्रममा शनिबार मात्रै पर्वतबाट ठुलो संख्यामा युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । मोदी गाउँपालिका वडा नम्बर ७ राम्जा, फलेबास नगरपालिका वडा नम्बर ७ लिमिठाना र वडा नम्बर ८ ठानामौलाबाट गरी ७८ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । एमालेले सधै जनतालाई भ्रममा राख्ने गरेको, सधै दोधारे निति लिने गरेको, निर्वाचनमा जे पनि बोल्ने तर चुनाव जितेपछि बेवास्ता गर्ने गरेको भन्दै उनीहरुले नेपाली काँग्रेसलाई नजिकबाट नियाल्दा राम्रो गरेकोले नेपाली काँग्रेस रोजेको बताए । ती वडाबाट नेपाली काँग्रेसमै प्रवेश गर्नका लागि युवाहरु बस रिजर्भ गरेरै सदरमुकामस्थित बिपिस्मृति भवन कुश्मा आइपुगेका थिए ।

उनीहरुलाई नेपाली काँग्रेसका निबर्तमान केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले काँग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभयो । काँग्रेस नेता जोशीले अव जनताले बास्तविक विकासबादी र राष्ट्रबादी पार्टी नेपाली काँग्रेस नै भएको थाह पाएरै नेपाली काँग्रेस प्रवेश गर्नेको लहर चलेको बताउनुभयो । ‘अन्य पार्टीले विभिन्न भ्रम गराएर राखेका नेता कार्यकर्ताले बल्ल बुझेदैछन्, बास्तविक विकासबादी र राष्ट्रबादी पार्टी भनेको नेपाली काँग्रेस नै हो त्यसैले अहिले नेपाली काँग्रेसमा प्रवेशको लहर चलिरहेको छ’ जोशीले भन्नुभयो । आफु पहिलो पटक चुनाव लड्दा पर्वतको सबै गाउँमा पैदलै प्रचारमा हिडेको तर जितेपछि सडक, बिजुलीबत्ती, खानेपानी, स्वास्थ्य संस्थालगायतका पूर्वाधारको सुरुवात गराएको जोशीले बताउनुभयो । उहाँले ०७४ सालको निर्वाचनमा कम्युनिष्टले १६ बर्षमा काँग्रेसले के ग¥यो भनेर जनतालाई भ्रम छरेपनि अहिले आफुले नै सुरुवात गरेको विकासले पुर्णता पाउदै गएको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य कुलबहादुर पुनले आफु पनि केही बर्षअघि एमाले परित्याग गरेर नेपाली काँग्रेसमा आएको बताउनुभयो । ‘म पनि एमाले छाडेर काँग्रेस भएको हुँ, तर कहिल्यैपनि काँग्रेसमा आएर हिनताबोध गर्न परेको छैन’ उहाले भन्नुभयो । नेपाली काँग्रेस पर्वत प्रदेशसभा क क्षेत्रीय कार्य समितिका सभापति राजकुमार क्षेत्रीले काँग्रेसमा आएका नवप्रवेशीलाई हिनताबोध हुन नदिई सधै सम्मान हुने बाताबरण बनाउने दाबी गर्नुभयो । काँग्रेसले बोलेपछि पुरा गरेरै छाड्ने प्रष्ट पार्दै क्षेत्रीले एमालेले अहिलेसम्म जनतालाई पार्दै आएको भ्रम अब सबै जनताले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कुलप्रसाद उपाध्याय, कुश्मा नगरका सभापति किशोर भण्डारी, पूर्वजिल्ला सदस्य रामबहादुर प्रसाई, मोदी–७ का सभापति नारायण गौतमलगायतले नेपाली काँग्रेसमा प्रवेश गर्ने युवाहरुलाई कहिल्यैपनि हिनताबोध गर्ने अवस्था नगराउने बताउनुभएको थियो । नेपाली काँग्रेस प्रदेश सभा क का सभापति क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन मोदीका सहसचिव तोयानाथ तिमिल्सिनाले गर्नुभएको थियो ।

Back to top button