राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।संसद सचिवालयमा आज शनिबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।सपथ लगत्तै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सांसदको लोगो वितरण गर्नुभएको छ ।

सपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिएको छ ।पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।

सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।१९ सिटमध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए भने एक सिट एमालेले रक्षा गरेको छ । प्रदेश एकबाट एक जना उम्मेदवारले एमालेबाट चुनाव जितेका छन् । यो सँगै एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाउन सफल भएको हो । बाँकी ७ सिट गुमाएको छ ।

एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । जसमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ र जसपाले १ सिट बढाएका छन् । राष्ट्रिय जनमोर्चाले पनि एक सिट पाएको छ ।यति हुँदा पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै कायम रहनेछ । राष्ट्रिय सभामा एमालेको अब १७ सिट भएको छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । उसको १५ सिट पुगेको छ । तेस्रो ठूलो दल रहेको कांग्रेसको १० सिट पुगेको छ ।साभार ईमेज खबर

Back to top button