नेका क्षेत्रीय समितिको कडा निर्देशन : आफुखुशी उम्मेदवारी घोषणा गरे कारबाही !

साजन परियार, पर्वत ।  नेपाली काँग्रेस प्रदेश सभा (क) क्षेत्रीय कार्य समितिले आफुखुशी सामजिक संजालमा उम्मेदवारी घोषणा गरे कारबाही गर्ने चेतावानी दिएको छ । आशन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेता तथा कार्यकर्ताले सम्बन्धित निकायमा छलफल र परामर्शबिना आफुखुशी विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने र गराउने कार्य नगर्नुहुन अनुरोध गरेको छ ।
पदाधिकारीहरुको बैठक पश्चात क्षेत्रीय सभापती राजकुमार क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गरी आफु खुशी उम्मेदवारी घोषणा नगर्न अनुरोध गरेका हुन् । पालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पद र सदस्यहरुमा आफु खुशी उम्मेदवारी घोषणा गर्दा पार्टी संगठनमा नकारात्मक प्रभाव पर्ने भन्दै यस्तो गतिविधी नगर्न नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले सबैमा आग्रह गरेकोहो।
‘लोकतान्त्रिक पद्धतिमा आफ्नो चाहना अनुसार उम्मेदवारी प्रस्तुत गर्नु अस्वभाविक नभएपनि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरुले पालना गर्दा स्वयम् र संस्थाका लागि लाभदायक हुनेछ । तथापि आफ्नो उम्मेदवारीको चाहनालाई नेपाली कांग्रेसको वडा, नगरपालिका, गाउँपालिका, प्रदेश र जिल्ला कार्य समिति सँग सरसल्लाह नगरी सामाजिक सन्जाल वा चोकमा बसेर उम्मेदवारी घोषणा गर्दा र गराउँदा हाम्रो पार्टीका निष्ठावान कार्यकर्ताहरुको मनोवलमा कमी आउन गई संस्था कमजोर हुने सम्भावना हुन्छ तसर्थ यस किसिमका गतिविधिहरु अगाडि नबढाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दै पार्टीको हित विपरितका क्रियाकलापहरु जो कोहीले पनि गरेको पाइएमा अनुशासनको कार्यवाही गर्न नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति पर्वत (क) बाध्य हुने छ,’–बिज्ञप्तिमा भनिएको छ ।
‘नेता कार्यकर्ताहरुले आफु खुशी उम्मेदवारी घोषणा गर्दा विपक्षी पार्टीले चलखेल गर्ने, उचाल्ने र पार्टीमा मनमुटावको स्थिति सिर्जना हुने भएकोले उम्मेदवार घोषणा नगर्न आग्रह गरेका हौँ,सभापति क्षेत्रीले भने,‘ निर्वाचनमा पार्टीमा लगनशीलता, जनप्रियता, इमान्दारीता र त्यागी कार्यकर्ता तथा नेतालाई उचित स्थान दिइने छ ।,’
नेपाली काँग्रेस पर्वतले पछिल्लो समय आफ्ना गतिविधीलाई बढाउँदै लगेको छ । कम्युनिष्टहरुमा आएको बिचलन सँगै काँग्रेसले आफ्ना गतिविधी बढाउँदै लगेपछि गाउँगाउँमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । आशन्न स्थानीय तहको लक्षित गरेर काँग्रेसले संगठन निर्माण गरेपनि अन्यपार्टी भने अलमलमा परेका छन् ।

 

Back to top button