फलेवासको स्थायी केन्द्र झकलाकमा स्थापना

पर्वत । पर्वतको फलेवास नगरपालिका स्थायी केन्द्रमा सरेको छ । फलेवास नगरपालिका ५ खानीगाउँ स्थित सिँचाई कार्यालयको भवनमा रहेको फलेवास नगरपालिकाको प्रसासनिक भवन खानीगाउँकै झकलाकमा सरेको हो । अस्थायी रुपमा हल सहित १० वटा कोठा निर्माण गरि सेवा शुभारम्भ गरेको नगरपालिकाले जनाएको छ ।

फलेवास नगरपालिका मोती सामूदायिक पुस्तकालयको भवन पछि सिँचाई आयोजनाको खाली रहेको घर जिर्णोद्धार गरि सारिएको थियो । कार्यपालिकाको बहुमतको आधारमा अस्थायी रूपमा फलेवास–५ खानीगाउँमा रहेको केन्द्र सोही वडाको झकलकमा सार्ने निर्णय भएको थियो । नयाँ स्थानमा सरेको नगरपालिकाको भवन निर्माणको काम अझै बाँकी नै छ । नगरप्रमुख पदमपाणी शर्माले तयार भएका केहि कोठामा कार्यालय सञ्चालन गर्ने गरि नगरपालिकाको कार्यालय स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाको नगरसभाले केन्द्रको संरचना झकलकमा राख्ने निर्णयका बिरुद्ध उपप्रमुख मञ्जु अधिकारीले चैत्र २२ गते नगरसभा, कार्यपालिका, मेयर सहितलाई बिपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेपछि चैत्र २५ गते भवन निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च आदेश बिरुद्ध मेयर पदमपाणी शर्मा सहितले आदेश खारेज गर्न माग गर्दै बैशाख ९ गते मुद्दा दर्ता गरेका थिए ।सर्वोच्चको आदेश बिरुद्ध नगरप्रमुख शर्माले दायर गरेको पुनरावलोकन मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले पुरानो अन्तरिम आदेश खारेज गरेसँगै झकलकमा भवन निर्माणको काम अघि बढाउने बाटो खुलेको हो ।

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएकोे प्रशासनिक भवन निर्माण काय भने अहिले तिव्र गतिमा अगाडि बढेको छ । भवन ४२ कोठे हुनेछ । जुम्ले थान एण्ड आचार्य विल्डर्स प्रालि बागलुङले लिएको छ । भवन निर्माणका लागि २०७८ भदौमा सम्झौता भएको थियो । नौ करोड दुई लाख रुपैंयाँको लागतमा डेढ वर्षमा भवन सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

Back to top button