बुढानीलकण्ठमा एकजनाको हत्या, दुई पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ-५, थाकथोकमा एक जनाको हत्या भएको छ ।बुढानीलकण्ठ–४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् ।प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो । तर सनाखत हुन सकेको थिएन । ‘शंकास्पद लागेपछि अनुसन्धानमा सहयोग गर्ने प्रहरी कुकुरसहितको टोली लिएर अनुसन्धान थालेका थियौं’ एसपी मैनालीले भने, ‘पछि घटनामा दुई जनाको संलग्नता देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । उनीहरुले बयानका क्रममा राउतलाई बाँसले टाउकोमा हानेको भनेका छन् ।अनुसन्धान अधिकृतहरुका अनुसार याकुभ र करणलाई मृतक राउतले ३५ हजार रुपैयाँ दिनुपर्ने थियो । त्यो दिन नमानेपछि झगडा परेको र त्यही क्रममा ज्यान रहेको हुनसक्ने देखिएको अधिकृतहरु बताउँछन् ।साभार अनलाईन खबर

Back to top button