त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिज अघि श्रीलंकामा चार अभ्यास खेल खेल्ने भएको छ ।नेपालले युएई जानुअघि श्रीलंकाका स्थानीय टोलीसँग चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

ती टोलीबाट श्रीलंका राष्ट्रिय टोलीका खेलाडी पनि खेल्न सक्ने बताइएको छ ।नेपाल शनिबार श्रीलंका जानेछ । श्रीलंकामा एक हप्ताको बसाईपछि मार्च १३ मा युएई पुग्नेछ ।नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायिकेले उक्त अभ्यास खेल खेल्ने वातावरण मिलाएको बताइएको छ । नेपाली टोली युएई भ्रमणको लागि २० सदस्य खेलाडी बन्द प्रशिक्षणमा छन् । युएई भ्रमणमा १६ सदस्य खेलाडी जानेछन् ।विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ । त्यसपछि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टी २० आई त्रिकोणात्मक सिरिज खेल्नेछ । पपुवा न्युगिनीसँग दुई ओडिआई खेल पनि खेल्ने बुझिएको छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो । गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भएको थियो ।नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्छ ।साभार ईमेज खबर

Back to top button