एमसीसी परियाेजना ५ वर्षभित्रै सक्ने सरकारकाे लक्ष्य

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले पाँच वर्षभित्रमा झन्डै ३१५ मिटर प्रसारण लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर देशको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासलाई अघि बढाउनतर्फ सरकार रहेको बताउनुभयो । उहाँले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरूले अब एमसीसी समयमै सक्नका लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने बताउनुभयो । उहाँले आजको बैठक अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भूमिका र संसद् अवरोधका बारेमा छलफल केन्द्रित भएको बताउनुभयो ।

मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, हवाई उड्डयन जस्ता विधेयकहरूको बारेमा पनि छलफल भएको जानकारी दिनुभयाे । त्यस्तै आजको बैठकमा आउँदाे आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले यो गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकाले अझै अघि बढ्ने बताउनुभयो । उहाँले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसीसीबाट जनतालाई रोजगार बनाउने बताउनुभयो । साभार उज्यालो अनलाईन

Back to top button