बेनी–जोमसोम सडकमा सुरुङ अध्ययन गर्न निर्देशन

राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न निर्देशन दिएका हुन् ।

आयोजनाका प्रमुख जगत प्रजापतिले टोलीले पहिरो, कमजोर भुगोल र चट्टानी पहाड भएको म्याग्दी खण्डका दुई स्थानमा सुरुङ र उपल्लो मुस्ताङमा निर्माण भएको सडकलाई कालोपत्र गर्ने निर्देशन दिएको बताए । कमजोर भूगोल र चट्टानी पहाड भएको भिरकाटे र रुप्से खण्डमा सडकको विकल्पमा सुरुङ बनाउनका लागि अध्ययन गर्न निर्देशन दिए’, उनले भने, ‘ग्राभेल भएको जोमसोम–कोरला खण्डको सडक कालोपत्र गर्ने योजना अघि बढाउन उपाध्यक्षले निर्देशन दिएका छन् ।’सडकलाई दिगो र सुरक्षित बनाउन जोखिमयुक्त ठाउँमा सुरुङ बनाउने विकल्प रोज्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो । कोरला नाका भएर व्यापार गर्न तथा परम्परागत र ऐतिहासिक गुम्बाको धार्मिक पर्यटन विकासका लागि उक्त कार्य आवश्यक भएको उनी बताउँछन् । मुस्ताङ र डोल्पा जोड्ने सडकलाई पनि प्राथमिकता दिनु पर्नेमा पौडेलले जोड दिए ।

आयोजनाले भिरकाटेमा ३५० मिटर सुरुङको प्रारम्भिक अध्ययन गरिसकेको प्रमुख प्रजापतिले बताए । चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । विसं २०७४ देखि शुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ । १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको १३ मध्ये जोमसोम–कोरला खण्डको ६ खण्डको स्तरोन्नति सकिएको छ । आइतवार मुस्ताङ आएको उपाध्यक्ष पौडेल, सहसचिव राजेन्द्र पौडेल, संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयका इन्जिनीयर ललिजन खनाल र तिब्बती भाषाविद् पुण्यप्रसाद पराजुलीको टोली मंगलवार काठमाडौं फर्किएको छ ।

Back to top button