जलजला गाउँपालिका ८ फर्सेमा टोल समिति गठन गर्दै महिला संघ

पर्वत । नेपाल महिला संघ पर्वतले जिल्लाभर टोल समिति गठनलाई तिव्रता दिएको छ । टोल समिति गठन गर्ने क्रममा आज जलजला गाउँपालिका ८ फर्सेमा टोल समिति गठन भएको छ । टोल समितिको अध्यक्षमा पुष्पकुमारी केसी चयन हुनुभएको छ । महिलाहरुको उल्लेखनिय उपस्थितीमा भएको भेलाले सर्वसम्मत रुपमा समिति चयन गरेको हो । उपाध्यक्षमा मिनाकुमारी आचार्य, सचिवमा शोभा श्रेष्ठ, कोषाध्यक्षमा गीता केसी र सहसचिवमा कमला नेपाली चयन हुनुभयो । सदस्यहरुमा निमकला थापा, सरस्वती केसी, शर्मिला विक,तारादेबी सापकोटा, माया केसी, नरकुमारी केसी, कोपिला आचार्य, मन्जु केसी र सरस्वती आचार्यले जिम्मेवारीमा पाउनुभएको छ ।

महिला संघ गठन कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवं संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्दै महिलाहरु जागरुक बनेर अब हरेक गतिविधिमा सहभागी हुन आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा र शैक्षिक योग्यता हासिल नगर्दा पछि परेको हुनाले आफ्ना सन्ततीलाई शिक्षाको अवसर दिन र गृहस्थी संगै उद्यममा सहभागी हुन महिलाहरुलाई आग्रह गर्नुभएको थियो । नेता जोशीले महिला संघले सक्रियता पूर्वक जिल्लामा संगठन विस्तार गरेर महिलाहरुलाई राजनीति र समाज रुपान्तरमा समाहित गराउन उदाहरणीय भूमिका खेलेको भन्दै धन्यबाद दिनुभयो । जिल्लाभर महिला संघ गठन गर्ने तिव्रता देखिएपनि नियमित छलफल र बिचार बिमर्श हुनुपर्ने बताउँदै जोशीले महिला संघले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । महिलाहरुलाई दिईने सबै जिम्मेवारी इमान्दारीपूर्वक निभाउने गरेको बताउँदै आगामी सबै तहका निर्वाचनमा काँग्रेसलाई विजयी गराउन महिलाहरुलाई भूमिका दिनुपर्ने जोशीले बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै काँग्रेस नेता जोशीले संसदबाट हालै पारित भएको एमसीसी सम्झौता नितान्त देश विकासको अनुदान रहेको दाबी गर्नुभयो । एमसीसीमा अफवाह फैलाउने कम्यूनिष्ट दलहरु पनि आखिर एमसीसीको पक्षमा देखिएको बताउँदै बखेडा झिकेर गिजोल्न खोजिएपनि सबै प्रयास विफल भएको चर्चा गर्नुभयो । राष्ट्रिय हितका लागि लागि एमसीसी जस्ता थुप्रै बैदेशिक परियोजना नेपालमा कार्यन्वयनमा रहेको प्रसंग सुनाउँदै एमसीसीमा कहिँकतै राष्ट्रघात नरहेको बताउनुभयो ।

महिला संघका जिल्ला अध्यक्ष मुना शर्मा लामिछानेले हरेक घरघरमा पुगेर महिलाहरुलाई महिला संघमा आबद्ध बनाएर राजनीतिक भूमिकामा ल्याउन कोशिष गरिरहेको बताउनुभयो । महिलाहरुलाई जिम्मेवारी संगै अवसरहरु पनि आवश्यक रहेको बताउँदै लामिछानेले नेतृत्वले महिलालाई अवसर दिएमा जिम्मेवारी पुरा गर्न तत्पर रहेको अवगत गराउनुभयो ।

कार्यक्रममा नेपाल महिला संघका क्षेत्रीय सभापति लक्ष्मी हमाल, नेपाली काँग्रेस जलजला गाउँपालिकाका सभापति ईन्दुप्रकाश पौडेल, जलजला ८ का वडाध्यक्ष हरिविकास जिसी,नेपाल महिला संघका जिल्ला सचिव सुसिला शर्मा, जिल्ला सदस्य अनिता मल्ल, नेपाली काँग्रेसका यूवा नेता विप्लव हमाल, हरेमवहादुर खत्री, पूर्व गाविस अध्यक्ष तुलवहादुर खत्री, जनचेतना परिवर्तन महिला समूहका पूर्व अध्यक्ष पुष्प केसी लगायतले बोल्नुभएको थियो । नेपाल महिला संघ जलजला गाउँपालिका ८ का अध्यक्ष शुभ केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य यमूना मल्ल र सञ्चालन सचिव पुष्पा केसीले गर्नुभएको थियो ।

Back to top button