आफूमाथि लगाइएका आरोप पुष्टि गर्न एमालेलाई सभामुखको चुनौति

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले सभामुखमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौति दिएको छ ।सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक प्रेस नोट निकालेर देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषय समेटिएको भन्दै पुष्टि गर्न चुनौति दिनुभयो ।जारी प्रेस नोटमा भनिएको छ, ‘उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।’न्यौपानेले निश्चित परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार गरिनु खेदजनक भएको बताउनुभयो ।आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सभामुखविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको उल्लेख छ ।

सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।साथै सचिवालयले सभामुखलाई जोडेर गरिएको भ्रमपूर्ण प्रचारलाई राजनीतिक पूर्वाग्रहको संज्ञासमेत दिएको छ ।मंगलबार एमसीसी अनुमोदन भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा (एमाले)ले जारी गरेको प्रेस विज्ञप्तिमा सभामुखका कारण संसदमा अहिलेको गतिरोध सिर्जना भएको आरोप लगाइएको थियो ।सभामुखले कुनै समयमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेको आत्महत्या गर्छु भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै एमालेले यस्तो व्यवहारले पदीय कर्तव्य भन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिएको उल्लेख गरेको छ ।

Back to top button