युक्रेन पट्टी रोकिएका नेपालीलाई सीमा पार गराउन प्रयासरत छौँ : अध्यक्ष पन्त

काठमाण्डौ – गैर आवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष कुमार पन्तले युक्रेनमा रहेका नेपालीलाई कूटनीतिक पहलमार्फत उद्धारका लागि छलफल भइरहेको बताउनुभएको छ ।  युक्रेन पट्टी रहेका नेपालीलाई केही समय धैर्य गर्न आग्रह गर्दै अध्यक्ष पन्तले पोल्याण्ड प्रवेश गराउन कूटनीतिक सहजीकरणको लागि जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको आफ्नो फेसबुक पेजमार्फत जानकारी दिनुभएको छ ।

युक्रेन र पोल्याण्डको सिमानामा रहेका ५० प्रतिशत नेपालीहरू गए राती नै बस र रेलमार्फत पोल्याण्डको वार्सा लगायतका सहरमा पुगेका छन् । तर कतिपय नेपालीहरू युक्रेन पट्टी नै रहेको र चर्किएको युद्धका कारण सीमा नाकामा आउन समस्या भएको छ । उनीहरूलाई पोल्याण्ड प्रवेश गराउन समन्वय भइरहेको अध्यक्ष पन्तले उल्लेख गर्नुभएको छ ।

युक्रेन छाडेर सीमावर्ती देशमा प्रवेश गर्ने नेपालीको अवस्था बुझ्न अहिले अध्यक्ष पन्त पोल्याण्ड र युक्रेनको सिमानामा मेडिका पुग्नुभएको छ । युक्रेनमा रहेका नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा नाकामा रहेका नेपाली, विभिन्न सङ्घसंस्था र नेपाली समुदायहरू खटिइरहेका छन् । युक्रेनी सीमा पार गरेर पोल्याण्ड प्रवेश गरेकाहरूलाई अन्य सहरमा लगेर राख्न पनि एनआरएनएले सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।साभार उज्यालो अनलाईन

Back to top button