महिलाहरूलाई उद्यमशिल बनाउने उद्देश्य, खानीगाउँमा सिलाइकटाई तालिम सुरु

पर्वत । महिलाहरूलाई उद्यमशिल बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा ६० दिने एडभान्स सिलाईकटाई तथा सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । रोटरी क्लब अफ रुद्रमती काठमाडौको आयोजना,आइसिए नेपालको सहयोग तथा मोती सामुदायिक पुस्तकालय पर्वतको समन्वयमा सोमवारदेखी उक्त तालिम सुरु भएको हो ।तालिम शुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आइसिए नेपालका संस्थापक अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तत्व प्रसाद तिमिल्सिनालेमहिलाहरुलाई उद्यमशिलताबाट स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यले फलेवासमा उक्त तालिम आयोजना गरिएको बताउनुभयो । संस्थाले विगत देखि नै देशका विभिन्न ठाउँमा सामाजिक रुपान्तरण र महिला सशक्तीकरणका कार्यक्रमहरु संचालन गरेको बताउदै सिप सिकेर महिलाहरु आत्मनिभर बन्नुपर्नेमा जोड दिनुभयो ।

आइसिए नेपालको सहयोगमा विगतमा पनि फलेवासमा विभिन्न कार्यक्रम संचालन भैसकेको र यसपालिको सिलाईकटाई र सेनेटरी प्याड बनाउने तालिमले महिलाहरूलाई जिविकोपार्जनमा फाइदा पुग्ने समाजसेवी तथा मोती सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले बताउनुभयो । विगतका कार्यक्रमहरुले महिलाहरुलाई उद्यमशिल बनाउन सकारात्मक प्रेरणा मिलेको र यो तालिमले सबल र सक्षम उद्यमी उत्पादन हुने शर्माले विश्वास व्यक्त गर्नुभयो । रोटरी क्लब अफ रुद्रमती काठमाडौंका अध्यक्ष सारदा प्रसाद धितालले रोटरी क्लबले मानवीय सेवामा समर्पित रहेर सामाजिक कार्यहरू संचालन गर्दै आएको बताउनुभयो । रोटरी क्लब अफ रुद्रमती काठमाडौंका चार्टर सदस्य दिपक प्रसाद उपाध्यायले देशका विभिन्न स्थानमा आवश्यकता र औचित्यका आधारमा क्लबले काम गरेको बताउदै सिकेका कुरा उपयोग गर्दै जिवनको आधारशिलाता तयार गर्न आग्रह गर्नुभयो ।

तालिमका लागि आवश्यक मेसिन, कपडा तथा अन्य सामाग्री संस्थाले उपलब्ध गराएको पुस्तकालयका अध्यक्ष कृष्णराज पौडेलले बताउनुभयो । पुस्तकालयको समन्वयमा आयोजना भएको उक्त तालिम निकै महत्त्वपूर्ण रहेको बताउदै चासो दिएर तालिम सिक्न पौडेलले आग्रह गर्नुभयो ।कार्यक्रममा पुस्तकालय व्यवस्थापन समिति सदस्य भिम लम्साल क्षेत्री,समाजसेवी महेश्वर पन्त, भवानी विद्यापिठ माबिका प्रअ अर्जुन कुमार रेग्मी,ब्रमहाकुमारी इश्वरीय विश्व बिद्यालय खानीगाउँ शाखा प्रमुख जानकी दिज्यु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । ६० दिनसम्म संचालन हुने तालिममा फलेवासका विभिन्न वडाका बेसिक सिलाइ सिकेका १५ जना महिलाहरुको सहभागीता रहेको छ ।

Back to top button